
काठमाडौं, २८ फागुन — रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक यात्री विमान खसाउने आदेश दिएको एक वृत्तचित्रमा बताएका छन् । सन् २०१४ को सोची शीतकालीन ओलम्पिकमा बमयुक्त विमान उडिरहेको थाहा पाएपछि त्यसलाई खसाउनका लागि आदेश दिएको उनले बताए ।
यो दुईघण्टे वृत्तचित्रलाई अन्लाइन रिलिज गरिएको छ । वृत्तचित्रमा पुटिन भन्छन्, ‘खेल शुरू हुनुअघि युक्रेनबाट टर्की गइरहेको विमान हाईज्याक भएको मैले थाहा पाएँ । तर यो गलत खबर रहेछ र विमानलाई खसाइएन ।’
वृत्तचित्र चुनावको मुखैमा आएको छ । रुसमा १८ मार्चमा चुनाव हुँदैछ र पुटिनले जित्ने राम्रो सम्भावना छ ।
पुटिनलाई सातजनाले चुनौती दिएका छन् । तर कसैले पनि बलियो समर्थन पाएका छैनन् । मुख्य विपक्षी नेता एलेक्सी नवल्नीलाई पनि चुनावमा उठ्न पनि दिइएन ।
संवाददाता आन्द्रे कन्द्राशोभले तुर्की पेगासस एयरलाइन्स बोइङ ७३७–८०० विमानका पाइलटले एक यात्रीसँग बम भएको र त्यो विमान सोचीमा उतार्नका लागि भनेको बताए । युक्रेनको हार्किभबाट इस्तानबुल गइरहेको विमानमा ११० यात्रु सवार थिए ।
पुटिनलाई सुरक्षा अधिकारीहरूले यस्तो स्थितिमा विमानलाई खसाउनु नै ठीक भएको बताएका थिए ।
पुटिनले भने, ‘मैले उनीहरूलाई प्रक्रियाको हिसाबले विमान खसाउने आदेश दिएँ ।’
तर केही मिनेटपछि अर्को फोन आएर खबर गलत भएको जानकारी दियो ।
यसको केही समयपछि नै आफू सोची ओलम्पिक समारोहमा पुगेको उनले बताए ।
रोयटर्सका अनुसार, राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले पनि पुटिनको कुरालाई पुष्टि गरे ।
एजेन्सी