०१ असार २०८३, सोमबार

प्रेममा लफडा : केटा दलित हो भन्ने थाहा पाएपछि बलात्कारको मुद्दा

फागुन २९, २०७४
प्रेममा लफडा : केटा दलित हो भन्ने थाहा पाएपछि बलात्कारको मुद्दा

महेन्द्रनगर, २९ फागुन– बैतडी दोगडा केदार गाँउपालिका वार्ड नं. २ का प्रकाश चुनारासंग सो गाउँपालिकाकी एक युवतीको मोबाइलबाट चिनजान भई प्रेम सम्बन्ध कायम भयो । भदौ महिनाकाे स्थानीय मेलामा उनीहरूकाे भेट भयाे । एकले अर्काेलार्इ  प्रेम प्रस्ताब पनि राखे । त्यसबीचमा उनीहरूबीच फाेनमा केहिलेकाँही कुरा हुन्थ्याे । यही फागुनकाे हाेलीमा उनीहरूबीच दाेस्राेपटक भेटघाट भयाे । उनीहरु भागेर विवाह गर्ने निष्कर्षमा पुगे । विवाह गर्ने याेजनाअनुसार उनीहरू फागुन १७ गते घरबाट भागेर भारत पुगे।

साँझपख भारतीय सीमावर्ती सहर झुलाघाटमा होटेलमा बस्ने, त्यसपछि बिहानै भारततर्फ जान लाग्दा सीमा नाका झुलाघाट प्रहरीले उनीहरुलाई सोधपुछ गर्दा सुरुमा प्रकाशले आफू ऐरी भएको बताए, प्रहरीले उनलाई धम्काएपछि उनी आफू दलित (चुनारा) भएको बताए ।

केटा दलित भएको कुरा थाहा पाएपछि युवती बोलिनन्, प्रहरीले दुबै जनालाई आफन्तको जिम्मा लगाए, आफन्तको सहयोगमा युवतीले जिल्ला प्रहरी कार्यालय बैतडीमा जबरजस्तीकरणी मुद्दा दायर गरिन् । प्रकाश अहिले प्रहरी हिरासतमा छन्, युवती भने घर फर्किएकी छिन् । 

जिल्ला प्रहरी कार्यालय बैतडीमा दर्ता भएको मुद्दामा प्रकाशले युवतीलाई जबरजस्तीकरणी गरेको गरेको कुरा उल्लेख गरिएको डिएसपी हेरम्ब शर्माले बताए । दलित अधिकारकर्मी सरस्वती नेपालीले भनिन् ‘जात थाहा नपाएसम्म प्रेम थियो, केटाकेटी दुई रात संगै पनि बसे, जब जात थाहा पायो त्यसपछि जबरजस्तीकरणीमा मुद्दा दर्ता भयो ।'

दोगडाकेदारका स्थानिय तथा महिला उत्थान समाज बैतडीका जिल्ला संयोजक काशि बिस्टले भने ‘केटी मेरो छिमेकी हो, केटीको घरबाट मलाई छोरी भागी भनेर फोन आएको थियो, प्रहरीले तपाईको छोरी केटासंग भाग्दै गर्दा समातेका छौ, घरबाट आएर लग्नुस् भनेको छ । तर हामी गइसकेकी छोरीलाई ल्याउदैनौँ भन्दै थिए, मैले उनीहरुलाई बोलाएर विवाह गरिदिनुहाेस् भनेको हुँ । त्यसपछि के भयो मलाई थाहा भएन । अब केटा फस्ने जस्तो देखिँदैछ तर केटा दलितै भए पनि दुबैको विवाह गरि दिनु पर्छ ।'

केटाकेटीबीच प्रेम हुनु स्वभाविक भएकाले मुद्दा फिर्ता लिएर दुबैकाे विवाह गराइदिनुपर्ने बिस्टकाे भनाइ छ । 'पछिल्लो समय अन्तरजातिय विवाह पनि धेरै भइरहेका छन् । उनीहरुको सम्बन्धका कारण दुबै जनाको जिन्दगी बर्वाद गर्नु भन्दा दुबैलाई बोलाएर विवाह गरि दिनु उचित हुन्छ,' बिस्टले भनिन्, 'यदि उनीहरुको उमेर पुगेको छैन् भने उमेर पुगेपछि विवाह गरि दिनुपर्छ । नत्र केटा जेल जाने सम्भावना देखिँदैछ भने, केटीलाई पनि समाजले राम्रो दृष्टिकोणले हेर्दैनन् र दुबैको जिन्दगी बर्बाद हुन्छ ।'

यो बिषयमा दोगडाकेदार गाँउपालिकाका अध्यक्ष चक्र कार्कीलाई पनि केटीका आफन्तले खबर गरेको र उनले पनि दुबै केटा र केटीलाई बोलाएर बिहे गरिदिन सल्लाह दिएको बताए । ‘केटाकेटीबीच प्रेम हुनु स्वाभाविक हो, तर विवाह गर्न उमेर पुगेको छ कि छैन् भन्ने कुरा मात्रै हो, त्यसैले उनिहरुको उमेर पुगेको भए विवाह गरि दिए हुन्थ्यो,’ अध्यक्ष कार्कीले भने ।

जिल्ला प्रहरी कार्यालय का डिएसपी शर्माले भने केटीले आफूलाई जबरजस्तीकरणी भएको भनि मुद्दा हालेको र आफूहरुले मुद्दा दर्ता गरेर केटालाई  हिरासतमा राखेको बताए । 

उनले भने ‘केटीले जबरजस्ती करणी भयो भनेर मुद्दा हालिन् हामीले दर्ता गरेका छौँ, उनीहरुको उमेर कति हो त्यो पनि पत्ता लगाउछौँ । हामीसंग मुद्दा दर्ता भई सकेपछि त्यसको छानबिन गर्नुपर्छ, गरिरहेका छौ, कसैले जातीय विभेद भयो भनेर मुद्दा हाल्यो भने त्यो अनुसार प्रक्रिया अघि बढाउँला  । तर अहिले दर्ता भएको मुद्दामा हामी अघि बढ्छौँ ।' 

स्थानिय माधब बिष्टका अनुसार केटा को उमेर १७ बर्ष छ भने केटीको उमेर २३ बर्ष छ । तर केटीले दिएको उजूरीमा आफ्नो उमेर १८ बर्ष उल्लेख गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्