
काठमाडौं, २९ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति चुनावमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसदीय भवनमा रहेको राष्ट्रपति निर्वाचनको मतदान केन्द्रमा प्रचण्डले मतदान गरेका हुन् ।
मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले यो वर्ष चुनावी वर्षका रुपमा रहेको र अब चुनावी प्रक्रिया पूरा भएको बताए । नयाँ संविधानमा भएको व्यवस्थाअनुसार पहिलोपटक राष्ट्रपतिको निर्वाचन हुन लागेकाले आजको दिन देश र जनताका लागि ऐतिहासि दिन भएको प्रचण्डको भनाइ थियो ।
आफूले दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो चरणमा स्थानीय तहको चुनाव सम्पन्न गराएको स्मरण गराउँदै प्रचण्डले भने, ‘जनताको स्तरदेखि संघीय संसदसम्म भाग लिने ऐतिहासिक अवसर मिल्यो ।’
प्रचण्डले अब विकास र समृद्धिको नयाँ लडाइँ शुरु भएको पनि बताए । उनले भोलि या पर्सि (बुधवार)सम्म सरकार बिस्तार भइसक्ने पनि बताए ।