
काठमाडौं, २९ फागुन — बंगलादेशी एयरलाइनको इतिहासमा भएको सबभन्दा ठूलो विमान दुर्घटनाले नेपाल, बंगलादेश, चीन र माल्दिभ्सका परिवारहरूलाई शोकाकुल बनाएको छ ।
बंगलादेशको नगरहवा गाउँमा एक परिवार आफ्ना पाँच सदस्य दुर्घटनामा परेको खबरले स्तब्ध छ । एन्नी अल्मुन नाहर, उनका श्रीमान् होसेन फारुक प्रियोक र उनीहरूकी तीन वर्षीया छोरी प्रियोन्मोयी तमारा दुर्घटनामा परे ।
प्रियोकका दाजु मेहदी हसन मासुम र उनकी श्रीमती स्वर्णा सैयदा कामरुनाहर पनि दुर्घटनामा परे ।
यीमध्ये चारजना बाँच्न सफल भए भने तीन वर्षीया बालिका तमाराको मृत्यु भयो ।
ढाका विश्वविद्यालयको अपराधशास्त्र विभागमा अध्ययनरत ताहिरा शशि र उनका श्रीमान् रेजवानुल हक शाओन विवाहको छैठौं वर्षको उपलक्ष्यमा छुट्टी मनाउन नेपाल आएका थिए । शाओन चाहिँ रंगपुर मेडिकल कलेज एन्ड हस्पिटलमा असिस्टेन्ट रजिस्ट्रार थिए ।
उनीहरू दुवजैजनाको मृत्यु भइसकेको छ ।
व्यापारी कबिर हुसेन दुर्घटनामा बाँच्न सफल भएको उनका छोरा शाओनले पुष्टि गरे । ‘मेरो बुवा अन्य दुई व्यापारीका साथ नेपालको यात्रामा जानुभएको थियो । तीमध्ये एकजनाले मेरो बुवालाई अस्पतालमा पहिचान गरे अनि मलाई
फोन गरेर बुवा जिउँदै हुनुहुन्छ भने । अनि मैले थाहा पाएँ ।’
कबिर हुसेन अहिले काठमाडौं मेडिकल कलेजमा एससीयू इकाइमा राखिएका छन् ।
ढाका ट्रिब्यूनबाट