
काठमाडौं, १ चैत- जिम्बाब्वेमा जारीआईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत प्लेअफमा नेपालले पपुवान्युगिनीविरुद्ध शानदार बलिङ प्रदर्शन गरेको छ । सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिएपछि पीएनजीको आधा टीम पेबेलियन फर्किएको छ ।
सन्दीपका अलावा सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका छन् । यो समाचार तयार पार्दासम्म पपुवान्युगिनीले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर ६९ रन जोडेको छ ।
आजको खेल जित्दा नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाउने सम्भावना छ भने हारेमा 'डिभिजन टू'मा घटुवा हुने खतरा ।
प्लेअफको अर्को खेलमा हङकङले नेदरल्याण्ड्ससंग प्रतिस्पर्धा गरिरहेको छ । यो खेलमा नेदरल्याण्ड्सले जितेको खण्डमा नेपाल र पीएनजीबीचको खेलको विजेताले एकदिवसीय मान्यता पाउने छ । हङकङले जितेमा भने त्यसपछि हुने सातौं स्थानको प्लेअफ जित्ने टोलीलाई सो सौभाग्य प्राप्त हुनेछ ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप विजेताको हैसियतमा नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेको छ ।
जारी प्रतियोगितामा 'समूह ए'मा रहेको पीएनजीले हालसम्म एक खेल पनि जितेको छैन, 'समूह बी'मा रहेको नेपालले चारमध्ये १ खेल जितेको छ । 'समूह बी'मा चौंथो भएको नेपालले अर्को समूहमा अन्तिम भएको टोलीसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
पछिल्ला दुई भेटमा निरासा !
पपुवान्युगिनीसंग भएका पछिल्ला २ भेटमा नेपाल निरास बनेको थियो । आईसीसी लिग च्याम्पियन्सिपमा नेपालसंगको दुवै खेल जितेको पीएनजीले शीर्ष ४ मा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको थियो । नेपाल भने 'डिभिजन टू'मा घटुवा भई पुन: बढुवा भएर आएको हो ।
टी-ट्वान्टी फर्म्याटमा विश्वकपसमेत खेलिसकेको नेपालका लागि सम्भवत: यो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेल हो । एकदिवसीय मान्यता पाएको खण्डमा आईसीसीले नेपाललाई उपलब्ध गराउने रकममा भारी वृद्धि हुनेछ भने बलिया टोलीहरूसँग नियमित खेल्ने अवसर पनि ।