काठमाडौं, १ चैत — संयुक्त राष्ट्र«संघमा अमेरिकाकी राजदूत निकी हेलीले बेलायतसँग एक्यबद्धता जनाउँदै रुसविरुद्ध कडा कदम नचलाइएमा उसले न्युयोर्क वा राष्ट्रसंघमा आबद्ध देशहरूमा आक्रमण गर्नसक्ने चेतावनी दिएकी छन् ।
हेलीले ट्रम्प प्रशासन अघिल्लो हप्ता रुसका पूर्व जासूस र उनकी छोरीमाथि बेलायतमा भएको रासायनिक आक्रमणमा बेलायतको पक्षमा उभिएको बताइन् ।
पूर्व जासूसलाई विषालु रसायनले आक्रमण गरेको भनी बेलायतको आरोपमा अमेरिका सहमत भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय स्तरमा रुसविरुद्ध कडा बदम उठाइनुपर्ने माग पनि हेलीले राखिन् ।
बुधवार भएको राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा उनले भनिन्, ‘बेलायतमा दुई मानिसमाथि सैन्य स्तरको नर्भ एजेन्ट आक्रमणमा रुसको हात भएको अमेरिकाको विश्वास छ ।’
रुसले अन्तर्राष्ट्रिय नियमहरूको उल्लंघन गरेको उनले बताइन् । हेलीले भनिन्, ‘हामीले यो समस्याको समाधानका लागि तत्कालै कदम नचालेमा रासायनिक हतियार प्रयोग हुने स्यालिस्बरी अन्तिम स्थान हुने छैन । रुसीहरूले न्युयोर्क वा अन्य कुनै सदस्य देशका शहरमा यसको प्रयोग गर्न सक्छन् ।’
रुसका पूर्व जासूस सर्गेई स्क्रिपाल र उनकी छोरी यूलियामाथि बेलायतको स्यालिस्बरीमा नर्भ एजेन्टमार्फत विष दिइएको थियो । तर रुसले यी आरोपहरूलाई काल्पनिक कथा भन्दै आक्रमणमा आफ्नो हात नरहेको बताएको छ ।
बेलायतले चाहिँ आक्रमणमा रुस नै संलग्न रहेको बताउँदै यसको प्रतिक्रियास्वरूप देशबाट २३ जना रुसी कूटनीतिज्ञहरूलाई देशबाट निकालेको थियो ।
एजेन्सी