
प्युठान, २ चैत– प्रहरीले पक्राउ गरेका व्यापारीहरुको रिहाइको माग गर्दै आज प्युठानमा व्यवसायीहरुले यातायात र बजार बन्द गराएका छन् । पेट्रोलियम पदार्थमा कालोबजारी गरेको भन्दै प्रहरीले चारजना व्यापारीलाई पक्राउ गरेको थियो ।
खुद्रा तथा ढेवरी पसलहरुमा बोतलमा राखि पेट्रोल बेच्ने गरेको भन्दै जिल्ला बजार अनुगमन टोलीले चार दिन पहिले जुम्रि र बागदुलामा व्यवसाय गर्दै आएका ३ जना महिला र १ पुरुषलाई पक्राउ गरेको थियो ।
पक्राउको विरोधमा जिल्लाका व्यवसायी, राजनीतिक दलका विद्यार्थी तथा युवा संगठनको संयुक्त आयोजनामा आज बजार र यातायात बन्द गरिएको हो ।
बन्द कर्ताले जिल्लाका पेट्रोल पम्प सञ्चालकहरुले नियमीत पेट्रोलियम पदार्थ आयात नगर्दा कालोबजारी मौलाएको र पम्प सञ्चालकहरुले नै बाहिर कालोबजारी गर्ने गरेको भए पनि प्रहरीले उनीहरुलाई कारबाही नगरि साना व्यवसायीलाई पक्राउ गरेको आरोप लगाएका छन् ।
प्युठानमा पछिल्लो ६ महिना देखि पेट्रोलको अभाव हुँदै आएको छ ।