
काठमाडौं, ३ चैत- आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको प्ले अफमा नेदरल्याण्ड्सले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । एक दिवसीय मान्यता पक्का गरिसकेकाले दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हो ।
सुपर सिक्समा स्थान बनाउन असफल नेपालले आफ्ना पछिल्ला २ खेल जित्दै आईसीसीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । नेदरल्याण्ड्सले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप जित्दै एक दिवसीय मान्यता पक्का गरेको थियो ।
नेपालले पपुवान्युगिनी र नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौं स्थानको प्ले अफ भेट पक्का गरेका हुन् । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुनेछ ।
दुई वर्षअघि आईसीसी लिग च्याम्पियन्सिपमा भएको एक भेटमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो भने अर्को भेटमा नेपाल निरास बनेको थियो ।
अब नेपाल र नेदरल्याण्ड्स विश्व क्रिकेटका शीर्ष १६ मध्येका टीम हुन् । जसमा अष्ट्रेलिया, भारत, पाकिस्तानसहितका १२ टेस्ट राष्ट्र पनि सामेल छन् ।