२३ जेठ २०८३, शनिबार

कार्यक्षेत्र विस्तार गरी सरकारलाई सघाउन व्यवस्थापन संघलाई अर्थमन्त्रीको आग्रह

कार्यक्षेत्र विस्तार गरी सरकारलाई सघाउन व्यवस्थापन संघलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, ३ चैत-नेपाल व्यवस्थापन संघको १८औं प्रबन्ध समिति तथा च्याप्टरका प्रतिनिधीहरूको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी सफल कार्यकालको शुभकामना दिएको छ । संघका सभापति सुशील भट्ट नेतृत्वको १० सदस्यीय टोलीले अर्थमन्त्री खतिवडालाई उनकै कार्यकक्षमा भेटी सफल कार्यकालको कामना गरेको हो ।

सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले देशको समसामयिक परिस्थितिप्रति चासो व्यक्त गर्दै आफ्नो कार्यकालमा राम्रो कुराहरूलाई मात्र प्रश्रय दिने बताए ।

साथै उनले संघीय संरचनाअनुसार कार्यक्षेत्र विस्तार गरी सरकारलाई सघाउन संघलाई आग्रह गरे । वर्तमान अवस्थामा देखिएका नीतिगत अस्पष्टता, वित्तीय साक्षरता र वित्तिय योजना लगायतका अन्य विभिन्न विषयमा सरकार संघसँग सहकार्य गर्न इच्छुक रहेको उनको भनाइ थियो ।

संघका सभापति भट्टले वर्तमान परिप्रेक्ष्यमा नेपाल व्यवस्थापन संघले आफ्नो दायरालाई फराकिलो बनाउँदै लगेको बताए । त्यसको थालनीस्वरूप संघको ३७औं राष्ट्रिय व्यवस्थापन अधिवेशनमा सोसियो इकोनोमिक डेभलपमेण्ट इन द फेडरल स्ट्रक्चर विषयमा वृहत छलफल गरेको, प्रदेश ७ मा त्यस क्षेत्रको स्रोत साधनको पहिचान र विकासको सम्भाव्यतामाथि गहन छलफल गरी स्रोत परिचालन र विकासको मार्गदिशा तयार गरिरहेको जानकारी उनले अर्थमन्त्रीलाई गराए ।

सभापति भट्टले नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरू, युएनडिपी र अन्य विकास साझेदारहरूसँग समेत सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुर्‍याउने गरी वर्षभरीनै आफ्ना कार्यक्रमहरू केन्द्रित रहने अर्थमन्त्रीलाई जानकारी गराए । आगामी दिनमा विभिन्न क्षेत्रको म्यानेजमेन्ट क्यापासीटी इण्डेक्स तयार गर्नका लागि पूर्वतयारीमा लागेको र त्यसलाई मूर्तरुप प्रदान गर्नेसमेत उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्