
काठमाडौं, ५ चैत- वीर अस्पतालको आईसीयूबाट क्याबिन नम्बर २ मा सरेर उपचाररत रेशम चौधरी सांसदको शपथ खाने तयारीमा छन् ।
कैलालीको टीकापुर घटनाका मुख्य आरोपी रेशमले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेलगत्तै विजयी भएको प्रमाण पत्र पाउनुपर्ने भन्दै आमरण अनशन शुरु गरेका थिए । प्रतिनिधिसभा निर्वाचनमा रेशम कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।
उनको स्वास्थ्यमा खराबी देखिएपछि उपचारका लागि काठमाडौंको वीर अस्पताल ल्याइएको थियो । लोकान्तरसंगको छोटो कुराकानीमा उनले आफूलाई केही दिनमा सांसदको सपथ खुवाउने आश्वासन दिइएको र त्यसको तयारीका लागि दौरा सुरुवाल पनि सिलाइसकेको बताए ।
आफूमाथि लगाइएको आरोप फगत आरोप मात्र भएको र त्यसलाई पुष्टि गर्न आरोप लगाउनेहरूलाई चुनौति पनि दिएका छन् । अनसनपछि स्वास्थ्यमा आएको ह्रासको कारणले कमजोर देखिएका रेशम चौधरी वीर अस्पतालमा उपचाररत छन् ।
उनलाई प्रशासनले निगरानीमा राखिरहेको छ । आज मात्र आइसीयुबाट क्याबिनमा सरेका उनलाई भेटघाटमा पनि कडाई गरिएको छ ।