
विराटनगर, ७ चैत– झण्डै ३ हप्तापछि बसेको प्रदेश नम्बर १ को प्रदेशसभा बैठक २५ मिनेट बसेर बिहीवारसम्मका लागि स्थगित भएको छ । प्रदेश सभा नियमावली मस्यौदा समितिका संयोजक लिलाबल्लाभ घिमिरेले नियमावली बुझाएपछि संसद बैठक स्थगित भएको हो ।
संसद बैठकमा जात्रा
बुधवार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक २ घण्टा ढिलो गरी शुरु भयो । संसद सचिवालयले नियमावलीको ड्राफ्टको फोटोकपी र प्रिन्ट गर्न ढिला गर्दा संसद बैठक नै प्रभाबित भएको हो । संसद बस्नुपूर्ब सम्पूर्ण तयारी गरेर संसदलाई सहज बनाउनुपर्ने संसद सचिवालयकै कारण बैठक बस्न २ घण्टा ढिलाइ भयो ।
संसद सचिवालयका कर्मचारीका कारण फोटोकपी र प्रिन्ट गर्न २ घण्टासम्म कुर्नु परेको सांसदहरूले दुखेसो पोखे । संसद बैठक शुरु हुने समय १ बजे नै संसद सभा बैठकमा प्रबेश गरेका सबै सांसदहरू १ घण्टासम्म पनि बैठक शुरु नभएपछि खाजा खान निस्किएका थिए ।
बैठक बस्नमा भइरहेको ढिलाइको कारणबारे सांसदहरुले पनि जानकारी पाइरहेका थिएनन् । खाजा खाएर फर्किदै गर्दा बैठक शुरु हुनै लाग्यो भन्ने सूचना पाएपछि सांसदहरु पुन संसद भवन पुगे । त्यसपछि थाहा भयो, कर्मचारीले फोटोकपी र प्रिन्ट गर्न ढिलाइ गरेका कारण तोकिएकै समयमा बैठक नबसेको रहेछ ।
समिति बनाउने बिषयमा दलहरुबीच विवाद
प्रदेशसभा नियमावली मस्यौदा समितिले आज मस्यौदा सदनमा पेश गरेको छ । समितिले पेश गरेको मस्यौदा भोलि (बिहीवार)को बैठकबाट पारित गर्नेगरी तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । पेश भएको नियमावलीको मस्यौदामा ४ वटा समिति बनाउने की ७ वटा बनाउने भन्ने बिषयमा दलहरुबीच कुरा मिलेको छैन । नेपाली कंग्रेसले बिभिन्न बिषयगत समितिहरु ४ वटा मात्र बनाउनुपर्ने बताउँदै आएको छ भने सत्तापक्ष एमाले र माओवादीले ७ वटा समिति बनाउने प्रस्ताव गरेको छ ।
प्रस्तावित ७ वटा समितिमा न्याय प्रशासन तथा विधायन समिति, शुसाशन तथा योजना रणनीति समिति, अर्थ तथा विकास समिति, सार्बजनिक लेखा समिति, शिक्षा–स्वास्थ्य–कृषि सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति, प्राकृतिक श्रोत तथा पूर्वाधार समिति तथा अन्य थप समिति तोक्न सक्नेगरी मस्यौदामा उल्लेख गरिएको समितिका संयोजक अधिकारीले जानकारी दिए ।