०१ असार २०८३, सोमबार

कांग्रेस बैठकमा देउवाले हिसाब माग्ने, पौडेल पक्षले सकेजति आलोचना गर्ने

चैत ९, २०७४
कांग्रेस बैठकमा देउवाले हिसाब माग्ने, पौडेल पक्षले सकेजति आलोचना गर्ने


काठमाडौँ, ९ चैत -कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठक चुनावी समीक्षामा केन्द्रित हुनेछ ।

बैठकमा सबै नेताहरूलाई चाहेजति बोल्न दिने सभापति शेरबहादुर देउवाको तयारी छ । कांग्रेभित्र अहिले संस्थापन र प्रतिपक्षीका रूपमा नेताहरू बाँडिएका छन् । बैठकमा नेतृत्वप्रति असन्तुष्ट नेताहरू थप आक्रामक रूपमा प्रस्तुत हुँदै छन् भने संस्थापन पक्ष कुन नेताले निर्वाचन क्षेत्रमा गएर कति भोट बढाए भन्ने हिसाब माग्ने योजनामा छ ।
आजको नयाँ पत्रिका लेख्छ- सभापति देउवाले यसअघि नै जिल्ला जिल्लाबाट चुनावको प्रतिवेदन मगाउन निर्देशन दिइसकेका छन् । प्रतिवेदनकै आधारमा कुन नेताले कस्तो भूमिका खेले भन्ने विषयमा समीक्षा गराउने उनको तयारी छ । ‘पार्टीमा हारेकाले गाली गर्न सक्छ, तर उसले आफ्नो ठाउँमा गएर कति भोट ल्यायो, बढायो भनेर पनि खोजी गरिनेछ,’ सभापतिनिकट स्रोतले भन्यो, ‘निर्वाचन हार्नुका पछाडि अहिले जसरी नेतृत्वमाथि खनिने काम भएको छ । अब नेताहरू कहाँ गएर कति मत बढाए भनेर डाटामा रिजल्ट हेरिन्छ ।’

यता १३ फागुनमा संसदीय दलको विधान पारितका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा नेता रामचन्द्र पौडेलले चार पाने विचारपत्र प्रस्तुत गरे । तर, सन्दर्भ नै नभएको बैठकमा सभापतिमाथि ठाडो आरोप लगाउँदै प्रस्तुत भएको भन्दै उनको आलोचना भयो । समीक्षा बैठकमा प्रस्तुत गर्नुपर्ने भए पनि गुट मात्रै मजबुत बनाएको, सरकारमा बस्दा असफल भएको, नैतिकता नदेखाएको, असफल नीतिका कारण सात प्रदेशमा कांग्रेसलाई खुट्टा टेक्ने ठाउँ नभएको, गलत काम गरी गिनिज बुकमा नाम लेखाउन खोजेको आरोप लगाएका थिए । तर, पौडेल फेरि पनि यसअघिकै प्रस्तावलाई केही सुधार गरी बैठकमा लिखित प्रस्ताव ल्याउने तयारीमा छन् ।

पौडेल पक्षका प्रकाशमान सिंह, डा. रामशरण महत, बलबहादुर केसीलगायत नेताले नेतृत्वको कमजोरीकै कारण पार्टीले अनपेक्षित पराजय व्यहोरेको विषय कडाइसाथ उठाउने तयारी गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्