काठमाडौँ, ९ चैत-इन्डियन प्रिमियर लिग (आइपिएल)मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्समा १ नम्बरको जर्सी लगाउने भएका छन् । एक कार्यक्रमबीच दिल्लीका सिइओ हेमन्त दुवाले बिहीबार सन्दीपलाई एक नम्बरको जर्सी प्रदान गरेका छन् । ११औँ आइपिएलको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो ।
पहिलो नेपाली खेलाडीका रूपमा सन्दीप आइपिएलमा अनुबन्ध भएका छन् । तर, सन्दीपले दिल्लीबाट आइपिएलमा डेब्यु गर्छन् कि गर्दैनन् भन्ने प्रश्न पनि छ । दिल्लीका सिइओ दुवाले सन्दीपले प्रशिक्षणमा राम्रो गरे स्थान पाउन सक्ने विश्वास दिलाए । तर, यसका लागि क्लबको मात्र निर्णय नभएर प्रशिक्षक तथा कप्तानको पनि निर्णय चाहिने उनले स्पष्ट पारेका छन् ।
‘प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पक्कै स्थान बनाउनेछन्, तर खेलाडी पहिलो ११ भित्र पर्ने वा नपर्ने निर्णय कप्तान र प्रशिक्षणले गर्छन,’ सन्दीपप्रति इंगित हुँदै दुवाले भने । नयाँ पत्रिकाले खबर छापेको छ |