
काठमाडौँ, ९ चैत- नयाँ सरकार निर्माणसँगै राजदूतहरूको दौडधुप बढेको देखिन्छ । दिनहुँजसो प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रभावशाली नेता भेटिरहेका छन् । अधिकांश भेटबारे परराष्ट्रले सञ्चार माध्यमबाट मात्र थाहा पाउँछ । कूटनीतिक आचारसंहिताविपरीत विदेशी पाहुना भेट्ने नेताहरूको चलन नयाँ होइन, तर राजदूतले समेत कूटनीतिक आचारसंहिता उल्लंघन गर्न थालेको कूटनीतिज्ञहरू बताउँछन् ।
‘नेपालमा कूटनीतिक भेटघाट सहज छ,’ पूर्वशिष्टाचार महापाल एवं राजदूत मोहनकृष्ण श्रेष्ठले भने, ‘राजदूतहरूले विभिन्न बहानामा सीधै भेट गर्छन् । परराष्ट्रले यसलाई व्यवस्थित गर्न सकेको छैन ।’
नेताहरूले सीधा आउने राजदूतलाई प्रक्रिया पुर्याएर आउन आग्रह गर्नुपर्ने उनको सुझाव छ । ‘मन्त्रीले नै आग्रह गर्नुपर्दैन, मातहतका कर्मचारीले त्यस्तो सन्देश दिए पुग्छ,’ उनले भने, ‘हामीले विदेशका कुनै मन्त्रालयलाई सीधा पत्र पठायौं भने तत्काल फिर्ता आउँछ, परराष्ट्रमार्फत पठाउनू भनिन्छ । यो थिति नबसाएसम्म आचारसंहिता उल्लंघन भइरहन्छ ।’
प्रधानमन्त्री, मन्त्री र दलका नेताहरूले कुन–कुन राजदूत र विदेशी पाहुना भेटे भन्नेमा परराष्ट्र बेखबरझैं छ । आफ्नो स्वार्थका लागि मर्यादा बिर्सेर नेताहरूले देशकै गरिमा घटाइरहेको निष्कर्ष परराष्ट्र अधिकारीहरूको छ, कान्तिपुरमा खबर छ ।