
काठमाडौँ, ११ चैत— ‘मलाई सेनाले समात्यो र ब्यारेकमा लगेर बलात्कार गर्यो,’ मञ्चमा उभिएर एक युवतीले भनिन्, ‘म जान्न चाहन्छु, किन ममाथि यसो गरियो ? थाहा पाउने अधिकार मलाई छ कि छैन ?’
एकपछि अर्काे गरी मञ्चमा उभिएका अरू तीन युवतीले पनि सशस्त्र द्वन्द्वकालमा सुरक्षाकर्मीबाट आफ्नो अस्मिता लुटिएको र त्यसपछि जीवनमा आइलागेको विपद्बारे बोले । नेपालका लागि राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालरी युलियन्डदेखि सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्षसम्मले भरिएको हलले यो दृश्य एकटकले हेरिरह्यो । युवतीहरूले आफ्ना आक्रोश र वेदना सुनाइरहे ।
‘तैं चुप, मै चुप’ उनीहरूले भने, ‘चुपमै छ भलाइ, तर हाम्रो होइन ।’ घरपरिवार र समाजका अघिल्तिर इज्जत जाने डरले आफूमाथि भएको बलात्कारजस्तो जघन्य अपराधविरुद्ध समेत बोल्न नसकेका पीडित महिलाका कथा यी युवतीले बिहीबार राजधानीमा अभिनयमार्फत अभिव्यक्त गरे ।
त्यसले दर्शकलाई निकै भावुक बनाइरहेको थियो । ‘बलात्कार एक जघन्य अपराध हो जसका बारेमा बोल्न महिलालाई गाह्रो हुन्छ,’ चुप बस्दा अपराधीलाई कुनै सजाय नै नहुने भएपछि हिंसापीडित महिलाले पहिचान गोप्य राखेर आफ्नो कथा सार्वजनिक गरिरहेको त्यस कार्यक्रममा भ्यालरीले भनिन्, ‘अझ सेना, प्रहरीले नै यस्तो अपराध गर्दा भन्न जाने ठाउँसमेत नभएजस्तो हुन्छ । यस्तो पीडा सहेर बस्ने थुप्रै महिला छन् जसलाई राज्यले पीडितसम्म पनि भनेर पहिचान गर्न सकेको छैन । यस्तोमा आफूलाई यौन हिंसा भयो भन्न सक्नु नै एउटा साहस हो ।’
कार्यक्रममा यस्तै खुल्न नसकेका मध्ये केही पीडितले ‘द स्टोरी किचेन’ नामक संस्थाको सहयोगमा आफ्ना पीडालाई वृत्तचित्र बनाएर व्यक्त गरेका थिए । यसरी खुलेर आउन सक्नु नै ठूलो साहस भएको भन्दै भ्यालरीले उनीहरूको प्रशंसा गरेकी थिइन् ।
बलात्कारका मुद्दामा उजुरी गर्ने हदम्याद गुज्रेकाले थुप्रै यौन हिंसापीडित महिला आफूमाथि भएको अन्यायविरुद्ध बोल्नसमेत नसकेको द्वन्द्वपीडितहरू बताउँछन् । यसरी खुल्न नसक्दा उनीहरू राज्यबाट पाउने राहतबाट समेत वञ्चित छन् ।
सत्य निरूपण तथा मेलमिलाप आयोगले दुई वर्षअघि नै सरकारलाई द्वन्द्वकालमा भएका यौन हिंसापीडितलाई उजुरी गर्न हदम्यादले बाधा नपर्ने गरी कानुन संशोधन गर्न आग्रह गरेको थियो । तर हालसम्म पनि संशोधन भएको छैन । ‘संकटकालका बेला मलाई माओवादीले जबर्जस्ती पार्टी प्रवेश गराए, पछि सेनाले गिरफ्तार गरी ब्यारेकमा लगेर सामूहिक बलजफ्ती गरे,’ एक पीडितले भनिन्, ‘अहिले मेरो बिहे भएको छ, श्रीमान्ले थाहा पाउलान् भन्ने डरले सधैं मन भतभती पोलिरहन्छ ।’
यौन हिंसापीडितलाई आत्महत्याजन्य विचारले घेर्ने गरेको, समाजमा अपहेलित भएर बस्नुपरेको र आङ खस्नेलगायत धेरै किसिमका यौन रोगले सताएको ‘दि स्टोरी किचेन’ ले गरेको अध्ययनले देखाएको छ ।, कान्तिपुरमा खबर छ ।