काठमाडौं, १२ चैत– प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश पेश गर्ने तयारी छ ।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवम् सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश पेश हुने छन् ।
कानुन मन्त्रालयले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश शुक्रबारै संसदमा दर्ता गराइसकेको छ । गृह मन्त्रालयले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश आज संसदमा दर्ता गर्दैछन् ।
सरकारले ल्याएका अध्यादेश ६० दिनभित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।