२८ जेठ २०८३, बिहीबार

धनुषामा भेटिए २१ सय वर्ष पुराना मूर्ति, कुषाण वंशको हुनसक्ने आशंका, दिन थालियो सुरक्षा

चैत १२, २०७४
धनुषामा भेटिए २१ सय वर्ष पुराना मूर्ति, कुषाण वंशको हुनसक्ने आशंका, दिन थालियो सुरक्षा

जनकपुरधाम, १२ चैत- धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा दुर्लभ, ऐतिहासिक तथा पुरातात्विक महत्त्वका मूर्तिहरू फेला परेका छन् । उक्त गाउँपालिकाको वडा नम्बर २ स्थित मुखियापट्टी गाउँमा २१ सय वर्ष पुराना मूर्तिहरू फेला परेका हुन् । उक्त वडाका वडाध्यक्ष नरेशप्रसाद यादवका अनुसार राष्ट्रपति तराई–मधेश चुरे संरक्षण परियोजनाअन्तर्गत तटबन्ध बानाउनका लागि खनिएको माटोलाई मिलाउने क्रममा ती मूर्तिहरू फेला परेका हुन् ।

अहिले फेला परेको मूर्तिहरू राजशी शैलीमा सिंहासनमा बसेको राजा, रानी र तिनका वरिपरी दायाँ र बायाँ सेवक र सैनिकहरू रहेको अवस्थाका छन् । यसअघि करीब २० दिनअगाण्डि त्यहाँ करीब ५० वटा साना तथा ठूला मूर्तिहरू फेला परेका थिए । यसका अतिरिक्त माटोले बनेका भाँडाहरूसमेत फेला परेका छन् । फेला परेका वस्तुहरूको अध्ययन तथा परीक्षणका लागि पुरातत्व विभागबाट आएको टोलीले केही सामान विभागमा लागेका छन् भने बाँकी मूर्तिहरूलाई वडा कार्यालयमा सुरक्षित तरिकाले राख्न लगाइएको छ ।

फेरि पनि माटो खन्ने क्रममा ११ चैत्रमा थप मूर्तिहरू फेला परेपछि थप अध्ययन तथा अनुसन्धान गर्न पुरातत्व विभागबाट पुरातत्व अधिकृत सुशील कुमार गौतम खटिएका छन् । अहिले फेला परेका मूर्तिहरू पश्चिमी तरार्ई मधेसका जिल्लाहरू कपिलवस्तु, नवलपरासी, लुम्बिनीमा पाइने गरेको ‘कुषाण’ कला शैलीका रहेको प्रष्ट चिनिन्छ, तर ती मूर्तिहरू आकारमा निकै ठूलो रहेको पुरातत्व अधिकृत गौतम बताउँछन् । ‘पश्चिमी तरार्ईमा पाइने ‘कुषाण’ वंशका मूर्तिहरू आकारमा धेरै नै साना खेलौना जस्ता हुन्छन् भने मुखियापट्टीमा फेला परेको मूर्ति तथा भाँडाहरू ठूलो भएकाले पनि नयाँ किसिमको मूर्ति रहेको हाम्रो प्रारम्भिक अनुमान हो ।’

उनका अनुसार त्यहाँ लुम्बिनीतिर यस्ता स–साना खेलौनाहरू भने असंख्य पाइन्छ, तर मुखियापट्टीमा फेला परेको पाँचवटा मूर्ति त्यो भन्दा ठूला आकारका छन् । राजशी शैलीमा बसेको मूर्तिहरूमध्ये देब्रेपट्टिको पुरुष, दाहिनेपट्टिको महिला र बीचमा तीनवटा मूर्तिहरू पाइएको छ, जो कि पुरुष वा महिला जुन कुनै पनि हुन् सक्छन्, किनभने मूर्ति फुटेको पाइयो । ‘माटोको मूर्ति ‘टेराकटन’ नै भए पनि विशेष खालको लाग्यो, किनभने अन्य स-साना मूर्तिहरू धेरै भेटेको भए पनि माटोको भाँडो बोकिरहेको जुन मूर्ति पाइएको छ त्यो पनि ठूलो नै छ, यस अघि नेपालमा यस्तो मूर्ति देखिएको छैन,’ त्रिभुवन विश्वविद्यालयबाट पुरातत्व विषयमा स्नातकोत्तरमा गोल्ड मेडलिस्टसमेत रहेका पुरातत्व विभागका अधिकृत गौतमले बताए ।

अहिले मूर्तिहरू फेला परेको स्थलको सुरक्षाका लागि नेपाल प्रहरीका दुई सुरक्षाकर्मी दिनरात खटिएका छन् । यसका अतिरिक्त स्थानीय गाउँलेहरू समेत सुरक्षार्थ चौबीसै घण्टा खट्ने गरेका छन् । पूर्वी तरार्ईमा मिथिला सभ्यता र संस्कृति, आस्था, विश्वासका कुराकानी रहेको अवस्थामा यो मूर्ति फेला पर्नुले एउटा नयाँ किसिमको खोज र अनुसन्धानको विषय बनेको छ ।

पश्चिमी तरार्ईका जिल्लाहरूमा बुद्धअघि र बुद्धकालका, त्यसपछिका मौर्य, सुंग, कुषाण अवधिका अवशेषहरू अझै पनि पाउन सकिन्छ । त्यतिबेलाका शासकहरूको वंशक्रम अनुसारको मूर्तिहरू विभिन्न समयमा फेला परेका छन् । यता पूर्वी तरार्ईमा दशौँ, एघारौँ शताब्दीका नानी देव्य राज्य, कर्नाटक राज्यका सामग्रीहरू पनि पाइन्छ । एघारौँ शताब्दीका कालखण्डका टुटेफुटेका मूर्तिहरू पूर्वी तराई मधेशसंग जोडिएको सीमावर्ती भारतमा पनि पाइरहेको छ । तर अहिले जसरी मुखियापट्टीमा यी मूर्तिहरू फेला परेका छन्, त्यसले अचम्म लाग्दो प्रमाण दिएकाले ऐतिहासिक घटनाक्रमको पनि पुनः अनुसन्धान जरूरी भएको पुरातत्व अधिकृत गौतमको तर्क छ ।

किनभने अहिले फेला परेको मूर्तिहरूको ठ्याक्कै अगाडि ढुङ्गा राखिएको छ, जुन ढुङ्गा तरार्ईमा पाइँदैन । फेरि मूर्तिभएकै अगाडि एउटा ठूलो हड्डीको अवशेषसमेत फेला परेकोले थप अनुसन्धान आवश्यक भएको उनले बताए । बीस दिनअघि फेला परेका त्यहाँका मूर्तिहरूमध्ये एउटा सानो मूर्तिको टाउको, मूर्ति र माटोको भाँडो परीक्षणका लागि पुरातत्व विभागमा लगिएको छ ।

अहिले हामीले पाएको मूर्तिहरू एउटा नै लहरमा पाइएको छ, फेरि कस्तो छ भने ती मूर्तिहरू राखिनका लागि बनाइएको पेटीमा प्रयोग गरिएको इँटा पनि ठूलो र फरक रहेकोले पनि पुरातत्व अध्ययन गर्नेहरूलाई पनि नयाँ विषय भएको उनले बताए । मूर्ति फेला परेको ठाउँमा इँटा र माटोको भाँडाका टुक्राहरू पनि प्रशस्तै पाइएको छ ।

यसरी  कुषाण राज्यका अवशेषहरू फेला पर्नु नयाँ कुरा हो । किनभने कुषाणहरू त्यति बेला उत्तर पश्चिम भारतमा शासन गर्ने गरेका थिए, हाम्रो देशको पश्चिमतिर पनि त्यसको प्रभाव रहेको देखिन्छ । तर, पूर्वी तरार्ईमा पनि यी मूर्तिहरू फेला पर्नुले तिनीहरूको प्रभाव थलो यता पनि विस्तार भएको थियो कि भन्ने कुराको चासो बढेको गौतमले लोकान्तरसंग बताए । कुषाण राज्यमा शासन गर्नेहरूमध्ये कोही चिनीयाँ मुलका बौद्ध त कोही हिन्दू धर्माबलम्बी राजाहरू हुने गरेको अवस्थामा अहिले फेला परेको मूर्तिहरूले नयाँ पुराताविक अध्ययनको विषय बनेको छ ।

अहिले मुखियापट्टीमा मूर्तिहरू फेला परेको स्थलको उद्धार र उत्खनन गर्नु आबस्यक परेको छ । तत्काल मान्छेको पाईला नपरेको जमिन मुनिको माटोको गहिराइसम्म पुग्नका लागि ‘भर्जिन स्वाईल’ को परीक्षण गर्नका लागि प्रबिधि ल्याउने तयारि समेत गरिने उनले बताए ।

जुन ठाउँमा ती मूर्तिहरू अहिले फेला परेका छन्, २५ बर्ष अगाडी सम्म त्यहाँ ईनार रहेको वडा अध्यक्ष यादवले बताए । फेरी त्यो ठाउँ नेपाल र भारतको सीमावर्ती ठाउं पनि हो । अन्तर्राष्ट्रिय बोर्डर संगै टाँसिएको भूभाग हुनुका साथै जमुनी नदीको किनारमा अबस्थित ठाउँ हो, यादवले भने, ‘पहिले–पहिले कवीरपन्थीहरूको मुक्ति पाउने ठाउँ रहेको हाम्रा बाजेहरूले बताउँंदै आएका छन् । हिजोमात्रै रामनवमीका दिन सयौं कवीरपन्थीहरू भेला भएका थिए ।’ 

नेपालकै सबैभन्दा होचो ठाउँ रहेको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा फेला परेका ती मूर्तिहरूको थप ऐतिहासिक तथा पुरातात्विक अध्ययन गरिनु आवश्यक छ ।

अहिले मूर्ति फेला परेको स्थल चार कट्ठा एकजना व्यक्तिको निजी जग्गामा रहेकाकारण सबैभन्दा पहिले त्यो जग्गा राज्यले किनेर अधिग्रहण गर्ने र त्यसपछि एउटा पर्यटकीय तथा सम्पदास्थलको रूपमा विकास गर्न कम्तिमा पनि १० लाख रुपैयाँ जति आवश्यक परेको वडाध्यक्ष यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्