
काठमाडौं, १३ चैत– महानगरीय प्रहरी परिसर काठमाडौंले अब आफू मातहत काम गर्ने उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ ।
महानगरीय प्रहरी परिसरले मंगलवार पत्रकार सम्मेलन गरी उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
काठमाडौं प्रहरीले उत्कृष्ट काम गर्ने आफू मातहतका प्रहरी जवानदेखि प्रहरी नायव उपरीक्षक (डिएसपी)सम्मका कर्मचारीलाई पुरस्कृत गर्ने छ । महानगरीय प्रहरी परिसर र नेपाल बंगलादेश बैंकबीच भएको सम्झौताअनुसार उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिने छ । उक्त योजनाअन्तर्गत नेपाल बंगलादेश बैंकले काठमाडौं प्रहरीलाई १८ लाख ६० हजार रुपैयाँ प्रदान गरेको छ ।
योजनाअन्तर्गत उत्कृष्ट काम गर्ने प्रहरी जवानलाई १० हजार, प्रहरी हवल्दारलाई १५ हजार, प्रहरी सहायक निरीक्षक (असई)लाई २० हजार, प्रहरी नायव निरीक्षक (सई)लाई २५ हजार, प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई ३५ हजार र प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई ५० हजार रुपैयाँ प्रदान गरिने महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरुस्कृत गर्ने (काठमाडौं प्रहरी अवार्ड)अन्तर्गत मंगलवार काठमाडौं प्रहरी र नेपाल बंगलादेश बैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा काठमाडौं प्रहरी प्रमुख एसएसपी पोखरेल नेपाल बंगलादेश बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगानाले हस्ताक्षर गरे ।
सम्झौतामा हस्ताक्षर गर्दै बैंकका कार्यकारी निर्देशक ढुंगानाले सामाजिक उत्तरदायित्व वहन गर्न आफूहरुले प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गर्न सहयोग उपलब्ध गराएको बताए ।
समिति वनाएर निश्चित मापदण्ड बनाएर पुरस्कार वितरण गरिने एसएसपी पोखरेलले बताए । गुण्डागर्दी, तस्करी, हुण्डी तथा जघन्य प्रकृतिको अपराधविरुद्ध सशक्त रुपमा काम गरी प्रहरीको छवी उच्च राख्न योगदान पुर्याउने प्रहरी कर्मचारीलाई प्राथमिकता दिइ पुरस्कुत गरिने पोखरेलको भनाइ छ ।