बुटवल, १३ चैत– रूपन्देहीको तिलोत्तमा–९ शंकरपुरमा मंगलबार बिहान फरक दृष्य देखियो । प्रदेश नम्बर पाँचमै यहाँका केही उद्योगी÷व्यापारीहरूको लगानीमा निर्माण भएको लुम्बिनी हेल्थ वाटर किङ्गडम उद्घाटन गर्ने कार्यक्रम थियो । वाटर पार्कको उद्घाटन गर्ने कार्यक्रम बिहान ९ बजे राखिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि थिए प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल । उक्त वाटर पार्क उद्घाटन स्थल मिनि संसद भवन जस्तै देखियो । उक्त स्थलमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु, उपसभामुख, सांसदहरु पुगेका थिए । एउटा वाटर पार्क उद्घाटन गर्न प्रदेशका मुख्यमन्त्री, उपसभामुख, मन्त्रीदेखि सांसदहरूको लर्को लाग्यो ।
कार्यक्रममा पुगेको थिए मुख्यमन्त्री शंकर पोखरेल, उनकी धर्मपत्नी तथा संघीय संसदकी सांसद सुजाता शाक्य, प्रदेश नम्बर पाँचका उपसभामुख कृष्णी थारु, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरी, राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराई, माओवादी केन्द्र प्रदेश नम्बर पाँचका संसदीय दलका प्रमुख सचेतक दधिराम न्यौपाने, सांसद डा. कृष्ण न्पौपाने, विष्णु पन्थी, थानकुमारी थापा, रमा अर्याल, पूर्व सांसद बाबुराम राना बिहान एउटा पार्कको उद्घाटन कार्यक्रममा पुगेका थिए ।
कार्यक्रम सञ्चालन सञ्चारकर्मी पार्वती पाण्डेले त एमालेका उपमहासचिव घनश्याम भुसाल, एमाले सांसद छविलाल विक, कांग्रेसका सांसद बालकृष्ण खाँण, प्रदेश पाँचका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, भूमिव्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल, सांसद तुलसी चौधरी लगायतलाई पनि आशनग्रहण गर्न आग्रह गरेकी थिइन् । तर उनीहरु उपस्थित थिएनन् ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, तिलोत्तमा नगरपालिकाका प्रमुख बाशुदेव घिमिरेलाई पनि आसन ग्रहण गराइयो । जहाँ कार्की र घिमिरे मात्र उपस्थित थिए ।
एउटा पार्कको उद्घाटन कार्यक्रममा प्रदेशसभाको झल्को दिन गरी मन्त्री र सांसद जानु त्यति राम्रो देखिँदैन । सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनीलाई केन्द्रमा राखेर पाँच नम्बर प्रदेशलाई पर्यटकीय गन्त्व्य बनाउन सकिने भन्दै मुख्यमन्त्री शंकर पोखरेलले पर्यटन उद्योगलाई प्राथामिकता राखेको बताए ।
उनले फजुल खर्च कटाउने, अव्यवस्थित तथा अबैज्ञानिक निर्माण रोक्ने र उत्पादनमूलक क्षेत्रमा लगानी गनुपर्ने जोड दिँदै आएका छन् । उनले अब व्यवसायीहरुले फजुल खर्च घटाएर व्यापार व्यवसायमा लगानी गरी मुलुकको अर्थतन्त्र बलियो बनाउने कार्यमा लाग्न आग्रह समेत गरे । उनले भने, ‘नेपालीको बानी केही आम्दामी भए अलिसान घर बनाएर सान दिन देखिन्छ ।’ उनले भने, ‘त्यो कार्य तत्काल रोकेर साना–साना घरहरु निर्माण गरी बचत भएको रकम÷पैसाले उद्यम गनुपर्छ । घर बनाउने होडबाजी त्याग्नुपर्छ ।’
सानो रकम भए पनि प्रदेश पाँचलाई पर्यटकीय गन्त्व्यको रुपमा विकास गर्न पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरे । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बाशुदेव घिमिरेले तिलोत्तलाई पर्यटकीय गन्तव्य बनाउन यहाँका सार्वजनिक जग्गा संरक्षणमा आफूले जुटेको बताए ।