०१ असार २०८३, सोमबार

मुख्य समाचार : सार्वजनिक बिदा कटौती, संघीय संसद्मा राष्ट्रपतिले आज सम्बोधन गर्ने

मुख्य समाचार : सार्वजनिक बिदा कटौती, संघीय संसद्मा राष्ट्रपतिले आज सम्बोधन गर्ने

काठमाडौं, १५ चैत– सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । 

यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ । राज्यमन्त्री गोकुल बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ ।

यस वर्ष कटौती भएका बिदा १२ दिन छन् । विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन् ।

स्थानीय तहमा ५७ हजार ३ सय कर्मचारी पठाइने– मन्त्रिपरिषदको बुधवार बसेको बैठकले स्थानीय तहमा ५७ हजार ३ सय ५४ कर्मचारी पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गर्दै प्राविधि र प्रशासनिक समूहमा गरी सो संख्यामा कर्मचारी खटाउने निर्णय गरेको हो । 

यसका श्रेणीविहीन कर्मचारीको विवरण समावेश नभएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार स्थानीय तहको कूल जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरिएको छ ।

बुधवारको मन्त्रिपरिषद् बैठकले केन्द्र (संघ)मा २१ मन्त्रालय रहने निर्णय गरेको छ । साथै संघीय मन्त्रालयको संगठन संरचना र दरबन्दी पनि बैठकले पारित गरकेो छ । संघको मन्त्रालयमा रहने कर्मचारीको दरबन्दी ३ हजार २ सय ६० बाट २ हजार ६ सय ५४ मा झारिएको सञ्चार राज्यमन्त्री बास्कोटाले बताए । 

राष्ट्रपतिको पहिलो सम्बोधन– राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई बिहीबार सम्बोधन  हुँदैछ । मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रहअनुसार सोको तयारीमा नेपाल सरकार, संघीय संसद् सचिवालय र राष्ट्रपतिको कार्यालय जुटेका छन् ।

अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट पहिलो सम्बोधन हुने कार्यक्रमका लागि सो स्थलमा सरसफाइ, सजावट र सुरक्षाको प्रबन्धका लागि संसद् सचिवालयले सबै कार्य पूरा गरेको छ । 

निर्वाचनपछि संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक कक्षमा दुवै सदनको संयुक्त बैठक हुँदा अट्न सक्ने गरी कुर्सी व्यवस्थापन गरेको थियो । प्रतिनिधिसभामा २७५ र राष्ट्रिसभामा ५९ सदस्य छन् । 
संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्मा राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने कार्यक्रम हुँदै आएकामा संविधानको नयाँ व्यवस्थानुसार निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुन लागेको हो ।

प्रधानमन्त्रीले राराबाट सम्बोधन गर्ने– प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने भएका हुन् । 
नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु ।” 

हत्यामा संलग्न तीन जना सार्वजनिक– सुर्खेतमा मृत अवस्थामा भेटिएकी किशोरीको हत्यामा संलग्न तीनजनालाई बुधबार सुर्खेत प्रहरीले सार्वजनिक गरेको छ । पञ्चपुरी नगरपालिका ५ बाबियाचौरमा एसइई दिइरहेकी गौरीकला रोकायको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनालाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । 

दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ माझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । गौरीकला मंगलबार आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । रोकाया मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर, घटनाको थप विवरण किशोरीको शव पोस्टमार्टमपछि मात्रै पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

आर्थिक कार्यविधि पारित– प्रदेश नं २ मा प्रदेशसभाबाट आर्थिक कार्यविधि (विधयेक) बुधबार पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारका तर्फबाट सोमबार प्रदेशसभामा आर्थिक कार्यविधि (विधेयक) पेस गरेका थिए । 
योसँगै अब प्रदेश सरकारले बजेट ल्याउने बाटो खुलेको छ । प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन– प्रदेश नं. ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन गरेको छ । सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार समितिको संयोजकमा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रहेका छन् ।

बैठकले विभिन्न समितिमा हेरफेरसमेत गरेको छ । लम्जुङको सुन्दरबजारमा भएको मध्यपहाडी लोकमार्ग सम्बन्धमा भएको विवाद र गोरखाको धार्चे र भीमसेन गाउँपालिकामा भएको विवाद समाधान गर्न गठित समितिको प्रतिवेदन मन्त्रिपरिषद्मा अभिलेखीकरण गर्ने र प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखेर पठाउने निर्णय भएको छ ।

निर्वाचन आयोगको बेरुजु फछ्र्योट ५९.८२ प्रतिशत– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले आफ्नो कार्यव्यवस्था प्रभावकारी बनाउन दोस्रो रणनीतिक योजना (२०७१÷०७२–२०७५÷०७६) अन्तर्गत मतदाता शिक्षा र  लैङ्गिक तथा समावेशीकरण नीति र रणनीति जारी गरी सोहीबमोजिम सरोकार भएकाहरुसँगको सहकार्यमा प्राथमिकताप्राप्त क्रियाकलाप सञ्चालन गरिरहेको बताए ।
गत आवमा आयोगका नाममा कायम रहेको बेरुजु रु ४७ करोड ८९ लाख ६३ हजारमध्ये रु २८ करोड ६५ लाख तीन हजार फछ्र्योट गरी ५९.८२ प्रतिशत बेरुजु फछ्र्योट गरिएको जनाइएको छ । 

पुनः शपथ गराउनुपर्नेसम्बन्धी रिट दर्ता– सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शपथ गराउनुपर्ने माग राखी दायर गरिएको रिट निवदन दर्ता गरिएको छ । अधिवक्ता नारायण खरेलले उमेरहद सकिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको हुँदा पुनः शपथ गराउनुपर्ने मागसहितको रिट निवेदनमाथि न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासमा मंगलबार सुनुवाइपछि दर्ता गर्न आदेश भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश पराजुलीको उमेरहद २०७४ साउन  २१ गते ६५ वर्ष उमेर पुगेका व्यक्तिबाट राष्ट्रपतिले शपथ लिएको हुँदा पुनः शपथ हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ । न्यायाधीश खतिवडाले इजलासले जारी गरेको आदेशमा भनिएको थियो, “संवैधानिक एवं कानूनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ, यस विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन ।”

उत्तर कोरियाली शासकसँग चिनियाँ राष्ट्रपतिका ४ प्रस्ताव– चिनियाँ राष्ट्रपति सी जिन पिङले उत्तर कोरियाका शासक किम जोङ उनसँग चारवटा प्रस्ताव राखेका छन् । बेइजिङमा भएको भेटघाटनका क्रममा दुई देशको सम्बन्ध सुदृढ गर्न राष्ट्रपति सीले चारवटा प्रस्ताव राखेको चीनको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सीले दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्न दुवैतर्फबाट उच्चस्तरीय भ्रमण गर्नुपर्ने प्रस्ताव गरेका छन् । चीन र उत्तर कोरियाले अग्रगामी र शान्तिपूर्ण विकासका लागि मिलेर काम गर्नुपर्ने रणनीतिक सञ्चारको सदुपयोग गर्नु पर्ने प्रस्ताव सीले गरेका छन् ।

राष्ट्रपति सीले चीन र उत्तर कोरियाको सम्बन्धको आधार बलियो बनाउदै दुईपक्षीय सम्बन्धलाई नागरिक–नागरिकबीचको सम्बन्ध तथा अन्य विभिन्न सहयोग आदान प्रदानमार्फत् सुदृढ गर्दै लैजाने प्रस्ताव गरेका छन् । 

थ्रीस्टार सेमिफाइनलमा प्रवेश– थ्रीस्टार क्लव बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोलले हराउँदै थ्रीस्टार सेमिफाइनल प्रवेश गरेको हो ।

अब थ्रीस्टारले चैत १६ गते पहिलो सेमिफाईनल खेलमा आयोजक मदन भण्डारी स्पोर्टस संग प्रतिस्पर्धा गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्