
काठमाडौं १६ चैत - अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको अवस्थाबारे शुक्रवार संसदलाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा अर्थमन्त्री खतिवडाले अहिलेको अर्थतन्त्रको अवस्था जर्जर रहेको जानकारी गराएका हुन् ।
खतिवडाले अहिले सरकारी कोष करिब रित्तो अवस्थामा रहेको बताउँदै दीर्घकालीन संरचनागत परिवर्तन नगरी दोहाुरो अंकको आर्थिक बृद्धि सम्भव नभएको बताए ।
खतिवडाले हाल आन्तरिक आयको ९० प्रतिशत भन्दा बढी अंश उपभोगमै खर्च हुने, उत्पादन लागत र अयात बढ्दा व्यापार घाटा बढ्दै गएको बताउँदै यसका लागि नीतिगत सुधार आवश्यक रहेकामा जोड दिए ।
प्रतिव्यक्ति आयको अवस्था समेत कमजोर अवस्थामा रहेकाले नेपाललाई विकासशील राष्टमा स्तरोन्नति गराउने योजना ३ वर्षपछिलाई सारिएको उनले बताए ।
पूँजी बजार आन्तरिक लगानीको एक महत्वपूर्ण स्रोत भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने अर्थमन्त्री खतिवडाको भनाई थियो ।