१६ असार २०८३, मंगलबार

भारत भ्रमणमा प्रधानमन्त्रीको प्राथमिकता के हुनुपर्छ ? यस्तो छ परराष्ट्रविद्हरूको सुझाब

चैत १७, २०७४
भारत भ्रमणमा प्रधानमन्त्रीको प्राथमिकता के हुनुपर्छ ? यस्तो छ परराष्ट्रविद्हरूको सुझाब

काठमाडौँ, १७ चैत- प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो ।
भारतले ६ असोज ०७२ देखि २५ माघसम्म लगाएको नाकाबन्दीका कारण नेपाल र भारतको सम्बन्ध बिग्रिएको छ । बिग्रिएको सम्बन्धलाई विश्वासमा बदल्नु प्रधानमन्त्री ओलीको प्राथमिकतामा हुनुपर्ने परराष्ट्रविद्हरू बताउँछन् । दुवै छिमेकीलाई विश्वासमा लिने परराष्ट्र नीति अपनाउनुपर्ने पूर्वराजदूत प्रा.डा. लोकराज बरालको सुझाब छ । 
यस्तै नयाँ सम्झौताभन्दा पनि पहिला भएका सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने परराष्ट्रविज्ञहरूको सुझाब छ । पूर्वप्रधानमन्त्रीहरूको भ्रमणको समयमा भएका सम्झौताअनुसार विकासे आयोजनाको काम तीव्र बनाउनु अहिलेको प्राथमिकता भएको उनीहरूको भनाइ छ । ‘भारतीय ठेकेदारले काम नगर्दा हुलाकी राजमार्ग अलपत्र छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाजस्ता ठूला योजना भारतीय कम्पनीको लापरबाहीका कारण काम अगाडि बढ्न सकेको छैन । ती आयोजना कार्यान्वयनमा जोड दिनुपर्छ,’ बरालले भने ।

नेपालको वैदेशिक व्यापारमध्ये भारतसँग मात्रै ६४.८ प्रतिशत छ । र, नेपालको कुल व्यापार घाटाको ६६ प्रतिशत पनि भारतसँगै छ । व्यापार भारतमुखी बन्दै गएको छ । भारतमुखी व्यापार घाटा कम गर्नलाई प्रधानमन्त्री ओलीले नेपालबाट भारतीय बजारमा निर्यात हुने सामग्रीमा रोक लगाउने प्रवृत्तिको अन्त्यका लागि पहल गर्नुपर्ने पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले बताए । 

नेपालको आन्तरिक सुरक्षा चासो र भारतीय सुरक्षा चासोबारेमा खुला छलफल हुनुपर्नेछ । पछिल्ला दिनमा नेपालमा पश्चिमाको लागनीमा गुम्बा, चर्च र मदरसा बन्ने र भारतीय जोगीको लगानीमा मन्दिर बनाउने क्रम बढेको छ । यस्ता गतिविधिले नेपालको आन्तरिक सुरक्षामा खतरा बढेको पूर्वराजदूत श्रेष्ठको भनाइ छ । 

भारतले अहिलेसम्म नेपालको संविधानलाई औपचारिक रूपमा स्वागत गरेको छैन । प्रधानमन्त्री ओलीले असन्न भ्रमणमा संविधानलाई स्वागत गराउन सक्नुपर्ने परराष्ट्रविज्ञको भनाइ छ । पूर्वराजदूत राजेश्वर आचार्यले दुईतिहाइ समर्थनको प्रधानमन्त्री ओलीले संविधानलाई स्वागत गराउन सके मात्रै भ्रमण सफल भएको मानिने बताए ।
पूर्वराजदूत आचार्यले भारतले नेपालमा लगाएको आर्थिक नाकाबन्दीप्रति अनौपचारिक भाषामा भए पनि ‘सरी’ भन्न लगाउनुपर्ने सुझाब दिएका छन्, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्