
काठमाडौं, १७ चैत– संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्न उत्तर कोरियालाई सघाएको आरोपमा विभिन्न पानीजहाज कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । परिषद्ले २७ वटा पानीजहाज, २१ वटा पानीजहाज सेवा कम्पनी र एक व्यक्तिलाई कालोसूचीमा राखेको हो ।
साथै कम्पनीहरुको सम्पत्ति पनि रोक्का गरिएको छ । राष्ट्रसंघबाट प्योङयाङलाई तोकेर दिइएको यो अहिलेसम्मकै ठूलो दण्ड हो ।
सामुद्रिक मार्गबाट तेल र कोइला जस्ता वस्तुको तस्करीविरूद्ध कारबाही गर्ने कदमस्वरूप संयुक्त राज्य अमेरिकाले गत महिना त्यस्तो प्रस्ताव गरेको थियो । प्रतिबन्ध लगाइएका तेल ट्याङ्कर र कार्गो पानीजहाजहरूलाई बन्दरगाह प्रवेशमा विश्वव्यापी रोक लगाइएको छ भने कम्पनीहरूको सम्पत्ति रोक्का गरिएको छ ।