
काठमाडौं, १७ चैत– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलाई आज नेपाल ल्याउने तयारी गरिएको छ । भारतमा उपचाररत खड्काको हिजो निधन भएको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अस्पताल प्रशासनमा कागजात मिलाउने प्रक्रिया सकिएपछि खड्काको पार्थिव शरीर आजै काठमाडौं ल्याईने छ । लगत्तै खड्काको पार्थिव शरीरलाई उनकै सानेपास्थित घरमा राखिनेछ ।
प्रवक्ता शर्माले खड्काको पार्थिव शरिरलाई भोली बिहान ९ बजे सानेपास्थित कांग्रेस पार्टी केन्द्रिय कार्यालयमा राखिने बताए । पार्टी केन्द्रिय कार्यालयमै नेता कार्यकर्ताले खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछन् ।
खड्काको पार्थिव शरीरलाई भोलि अपरान्ह आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कांग्रेसले जनाएको छ । माइल्ड स्ट्रोक भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
२ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न छोडेपछि थप उपचारका लागि भारत लगिएको हो । फागुन ६ गते दिल्ली लगिएका खड्काको हिजो साँझ एपोलो अस्पतालमा निधन भएको थियो ।