काठमाडौं, २७ मंसिर — सन् २०१२ मा सीएनएन हिरो अवार्ड जितेकी पुष्पा बस्नेत यस वर्ष सीएनएन सुपरहिरो बनेकी छिन् ।
कारागारमा बस्न बाध्य बालबालिकालाई घर, शिक्षा, स्वस्थ खाना र स्वास्थ्य सेवा दिने बस्नेतको कामको कदर गर्दै सीएनएनले सुपरहिरो घोषणा गरेको हो ।
‘मेरो सपनालाई वास्तविकता बनाउनुभएकोमा धन्यवाद,’ अवार्ड ग्रहण गर्दै बस्नेतले भनिन् । सोमवार बिहान बस्नेतलाई उक्त अवार्ड दिइएको हो ।
सीएनएन हिरो अभियानको दशौं वार्षिकोत्सवका उपलक्ष्यमा पूर्व हिरो अफ द इयरबाट सुपरहिरो छानिएको थियो । बस्नेतले अवार्डसँगै पाँच लाख रूपैयाँ पाएकी छिन् । उनको समाजसेवालाई अघि बढाउन यस रकमले मद्दत गर्नेछ ।
यसैबीच जेसन अरिस्टिजबालले यस वर्षको सीएनएन हिरो अफ द इयर अवार्ड जितेका छन् । अपांगता भएका जेसनले अपांग व्यक्तिहरूको हितमा योगदान पु-याएबापत यस वर्षको सीएनएन हिरो घोषणा गरिएको हो ।