२७ जेठ २०८३, बुधबार

कर्णालीको प्रदेशसभा : सिंहदरबार नजिक आएको आभास

चैत १९, २०७४
कर्णालीको प्रदेशसभा : सिंहदरबार नजिक आएको आभास

सुर्खेत, १९ चैत-देश संघीय संरचनामा गइसकेपछि कर्णालीको प्रदेश संसदमा जनसरोकारका विषयहरूले स्थान पाउन थालेका छन् । गत चैत १६ गते सम्पन्न प्रदेशसभाको छैटौं बैठकमा विभिन्न सरोकारका विषयमा सांसदहरूले धारणा राखे भने सांसदले संसदमा उठाएका विषयमा जानकारी दिन प्रदेश सरकारका विभागीय मन्त्रीहरूलाई सभामुख राजबहादुर शाहीले निर्देशन दिए ।

प्रदेश सभामा सुर्खेतको पञ्चपुरीमा गोरीकला रोकाया छात्राको बलात्कारपछि हत्या भएको विषय जोड तोडले उठ्यो । कुनै राजनीतिक रङ वा अन्य बहानामा हत्याराहरू उम्कन नदिन प्रदेश सरकारसँग उनीहरूले माग गरे । संसद बैठकमा दैलेखकी सांसद मिनासिंह रखालले महिलाहरू आफ्नै श्रीमानबाट समेत सुरक्षित हुन नसकेको बताउँदै सुरक्षा व्यवस्था कडा पार्न उनीहरूले सरकारसँग माग गरिन् ।

सांसद विन्दमान विष्टले बाढी पिडितहरूले अहिलेसम्म राहत नपाएको बताउँदै तत्काल भूकम्पपिडीत सरह क्षतिपूर्ति दिन माग गरे । प्रदेश सरकारले यसबारेमा चासो लिई तत्काल समस्या समाधानका लागि पहल गर्नुपर्ने उनको माग थियो ।

यस्तै सांसद हिमबहादुर शाहीले सरकार गठन भएको लामो समय बित्दा पनि संसदलाई विजनेस दिन नसक्नुको कारण मागे । उनले सरकारले प्रतिपक्षी दलका नेता र सांसदलाई तत्काल सेवासुविधा तय गर्न माग गरे । अर्का सांसद पदमबहादुर रोकायाले सरकारले स्थानीय तहका जनप्रतिनिधिहरूको पनि सेवा सुविधा तोक्न माग गरे । उनले कि त कसैले पनि सेवा सुविधा नलिनुपर्ने, लिनैपर्ने भए तत्काल तोक्नुपर्ने माग गरे ।

सांसदहरूले कर्णाली–रारा पर्यटनबारे संसदलाई किन जानकारी नदिएको हो खुलाउनुपर्ने माग गरेपछि बैठकमा उपस्थित रहेका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले संसद बैठक महिना दिनपछि बसेका कारण जानकारी दिन नसकिएको बताए ।

‘विविध कारणले बैठक नबसेको र मन्त्रालयले आवश्यक सबै तयारी पूरा गर्न नसकेका कारण जानकारी दिन ढिला भएको हो । सरकारका तर्फबाट मैले अहिले नै उक्त विषयमा संसदलाई जानकारी दिन्छु ।’ उनले भने, ‘कर्णाली प्रदेशको समृद्धिका लागि यो पहिलो योजना शुरु भएको र प्रधानमन्त्री केपीशर्मा ओलीले देशवासीका नाममा राराबाटै सम्बोधन गर्ने कार्यक्रम छ । संसदले पनि संकल्प गरोस् ।’ मन्त्री ज्वालाले पञ्चपुरीमा भएको हत्या पाशविक भएको र दोषीहरूलाई कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने बताए ।

यसरी संसदमा समाजका विभिन्न समस्याबारे सांसदहरूले बोल्दा केन्द्र संसदको झल्को आएको स्थानीय गगन शाही बताउँछन् । ‘संसदमा सांसदहरूले शुन्य समयमा राखेका यस्ता समस्याले सिंहदरबार गााउँमै आएको भान हुन्छ,’ उनले भने, ‘संसदले उठाएका कुराहरूको सरकारले जवाफ मात्रै दिने नभएर समाधान पनि गर्नुपर्छ ।’

मध्यपश्चिमाञ्चल विश्व विधालयका उपप्राध्यापक कमल लम्सालले समृद्धिको विषयमा सांसदहरूले उठाएका कुराहरू जायज रहेको बताए । ‘छैटौं बैठकले महत्वपूर्ण सामाजिक समस्याहरूको, कुसंस्कारको बारेमा छर्लंग पारेको छ,’ उनले भने, ‘यस्ता समस्या उठानले सांस्कृतिक कुरीतिविरुद्ध आवाज उठाउन टेवा पुग्नेछ र त्यसले प्रदेशलाइृ समृद्धिको बाटोमा हिडाउँने मेरो अपेक्षा छ ।’ 

उनले समाजमा घट्ने हरेक घटनालाई सांसदहरूले गरिमामय संसदमा राख्ने र त्यो विषयले समाधान पाउने गरेको इतिहास केन्द्रीय सांसदसँ नै रहेको भए पनि अब भने प्रदेश संसदले समेत त्यो स्वर्णिम अवसर पाउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्