काठमाडौं, २० माघ — युनाइटेड अरब इमिरेट्स (युएई) का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश मुसलमानविरोधी नभएको बताएका छन् । ट्रम्पले आफ्नो सार्वभौम अधिकारको प्रयोग मात्र गरेको उनले बताए ।

ट्रम्पले कार्यकारी आदेशमार्फत मुसलमानबहुल सातवटा देशका नागरिकलाई अमेरिका प्रवेश गर्नबाट रोक लगाएका थिए ।
बुधवार अरब–रुसी सहयोग फोरमको चौथो सत्रपछि पत्रकारहरूसँग बोल्दै शेख अब्दुल्लाहले यो कुरा बताएका हुन् ।
‘कुनै निश्चित समूहविरुद्ध आदेश जारी भएको भन्ने तर्क ठीक होइन,’ शेख अब्दुल्लाहले भने, ‘अझ अमेरिकी प्रशासनले आदेश मुसलमानहरूको विरुद्ध नरहेको प्रस्ट पारेको छ ।’
अधिकांश मुसलमान देशलाई उक्त निर्णयले कुनै फरक नपार्ने उनले बताए ।
‘यो प्रतिबन्ध अस्थायी भएको अनि प्रभावित सात देशले अनेकौं समस्याको सम्बोधन गर्नुपर्ने देखिन्छ,’ उनले भने ।
एजेन्सीको सहयोगमा