काठमाडौं, २० चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हालै सार्वजनिक गरेको श्वेतपत्र निराशा बाँड्न नआएको बताएका छन् । मुलुकको अर्थतन्त्रको यथार्थ चित्रित श्वेतपत्र देखाएको अवस्था भविष्यमा देख्नु नपर्ने उनले दाबी गरे ।
‘श्वेतपत्र यथार्थ पत्र हो, निराशा पत्र होइन । हातखुट्टा लुलो पारेर आएछ भन्ने नपरोस्’ मंगलवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘यथार्थपत्रमा कुनै आग्रह–पूर्वाग्रवश झुटा तथ्य, तथ्यांक प्रस्तुत छैन ।’
सरकारले श्वेतपत्रमार्फत् त्रासदी र अतिरञ्जना फैलाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा आवाज उठाएपछि प्रधामन्त्री ओलीले श्वेतपत्र यथार्थमा आधारित रहेको जवाफ दिएका हुन् ।
‘श्वेतपत्रले जुन यथार्थ देखाएको छ, अब उप्रान्त देखाउनुपर्ने छैन,’ ओलीले भने ।
त्यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रले उठाएका विषय सरकारका नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने बताएका थिए ।
संसदको विशेष समयमा नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले श्वेतपत्र ल्याउनु स्वभाविक भए पनि मुलुकको अवस्था त्यहाँ देखाइएजस्तो त्रासदीपूर्ण नभएको बताएका थिए ।
‘मुलुकको अर्थतन्त्रको स्थिति अप्ठ्यारो छ, तर मुलुकको स्थिति त्रासदीपूर्ण छ भनेर चित्रण गर्नु अतिरञ्जना हो,’ रिजालले भने ।
अर्थमन्त्री खतिवडाले गएको शुक्रवार संसदमा श्वेतपत्र सार्वजनिक गर्दै देशको ढुकुटी रित्तिएको बताएका थिए ।