२७ जेठ २०८३, बुधबार

क्रिकेट रंगशालाका लागि जग्गा खोज्दै धुर्मुस रुपन्देहीमा

चैत २०, २०७४
क्रिकेट रंगशालाका लागि जग्गा खोज्दै धुर्मुस रुपन्देहीमा

बुटवल २० चैत– हाँस्य कलाकारिताबाट नमूना निर्माणमा जुटेका सिताराम कट्टेल ‘धुर्मुस’सहितको टोलीले रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सकिने सम्भावनाको अध्यय्न गरेको छ । 

प्राविधिकसहित आएको उक्त टोलीले मंगलबार बिहान सैनामैना–७ लम्टैयामा रहेको मैदानको निरीक्षण गर्दै सम्भावनायुक्त रहेको ठहर पनि गरेको छ । यहाँ खुला रुपमा रहेको करिब ६५ विगाह क्षेत्रफलको जग्गालाई अहिले तारबार र केही ठाउँमा बृक्षरोपण गरेर संरक्षण गरिएको छ । यहीँ जग्गालाई स्टेडियम बनाउन सकिने भन्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले घोषणा गरेपनि मैदानको निरिक्षण गर्न धुर्मुसको टोली रुपन्देहीमा आएको हो ।

धुर्मुससहित मनोज गजुरेल, इन्जिनियर रबिभुषण झा तथा अर्जुन घिमिरेलगायत  रुपन्देहीमा आएको टोलीलाई नगर प्रमुख कार्की, उपप्रमुख बिना रानालगायत विभिन्न राजनीतिक दलका नेताहरु, नागरिक समाजका अगुवा, नगरपालिकाका अधिकृतहरुसहित हजारौं स्थानीयले स्वागत गर्दै सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए । 

मैदानमा पुगेर फाउण्डेशनका अध्यक्षसमेत रहेका धुर्मुस्ले भने–गौतमबुद्ध अन्तर्राष्ट्रिय खेल मैदान/रंगशाला (लर्ड बुद्ध क्रिकेट स्टेडियम) बनाउनको लागि सैनामैनाको जग्गा उपयुक्त रहेको घोषणा गरे । उनले अब सरकारी निकायको समन्वयमा प्राविधिक अध्यय्न गरिने बताए । फाउण्डेशनका अध्यक्ष धुर्मुसले भने–‘हामीले जग्गा हे¥यौं, प्राविधिक र अन्य हिसाबले पनि उपयुक्त र राम्रो लाग्यो, तर, यत्तिकै आजको भोलि नै यहीँ सुरु गरौं भनेर भन्न सकिने कुरा भएन् ।’ 

उनीसंगै आएका इन्जिनियर रबिभुषण झाले पनि सैनामैनाको जग्गा उपयुक्त रहेको प्रतिक्रिया दिए । उनीहरुले रुपन्देहीमा सैनामैनासहित बुटवल, तिलोत्तमामा पनि कुरा आएको जानकारी दिए । 

सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले नगरको कुनै पनि विकासका काममा निस्वार्थ सहकार्य गर्न आउनेलाई स्वागत गरिने बताए । उनले सैनामैनामा रंगशाला बनाउने कुरा सुरुमै घोषणा गरेको र सोही अनुरुप कामहरु पनि अगाडि बढेको बताए । उनले सैनामैना–७ को लम्टिया मैदान क्षेत्रमा ६५ बिगाहा जग्गा रहेको र अरु पनि आवश्यक परेमा नगरपालिकाले जुटाउन सक्ने जानकारी दिए । 
 
मुलपानीपछि स्टेडियमका लागि चाहिने पर्याप्त जग्गा सैनामैनामा पाइएको प्राविधिक झाले प्रतिक्रिया दिए । झाले अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने कुरा हचुवाका भरमा नहुने भन्दै  सुरक्षा र अन्य प्राविधिक विषयको टुंगोपछि यसबारे निक्र्योल गरिने बताए ।

रुपन्देही उपयुक्तः मुख्यमन्त्री

यता प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश स्तरमा खेलकुदको विकास गर्न सकिने प्रतिक्रिया दिए । भारतीय सीमावर्ती क्षेत्र पनि भएकाले रुपन्देहीमा क्रिकेट रंगशाला बनाउन उपयुक्त हुने उनको भनाइ थियो । 

धुर्मुस–सुन्तली फाउण्डेशनको टोलीले मंगलबार मुख्यमन्त्री पोखरेललाई भेटेर आफुहरुको उद्देश्यका बारेमा जानकारी गराएका थिए । मुख्यमन्त्रीले रुपन्देहीसहित दाङको लमहीमा रहेको मैदानको पनि सम्भावना रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्