
दमौली २२ चैत– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई विभिन्न आश्वासन बाँडेर बाम गठबन्धनले भोट ल्याएपनि झुठा आश्वासन पूरा गर्न नसक्ने भएपछि अर्थतन्त्रको गलत आँकडा देखाएर फेरि भ्रमको खेती गर्न लागेको आरोप लगाएका छन् ।
तनहुँको घिरिङ गाउपालिका वडा नम्बर दुईमा बिहीवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले जनतालाई बाम गठबन्धनले बाँडेको आश्वासन अनुसारको काम गर्न नसेक्ने भएपछि अर्थमन्त्री युवराज खतिवडाले संसदमा झुट बोलेको आरोप लगाएका हुन् ।
‘जनतालाई विभिन्न आश्वासन बाँडेर बाम गठबन्धनले भोट ल्याए । तर अहिले काम गर्न नसक्ने भएपछि अर्थतन्त्रको गलत आँकडा देखाएर फेरि भ्रमको खेती गर्न लागे । उनीहरु अहिले जनतालाई बाँडेको आश्वासन पुरा गर्न नसक्ने भएपछि नाटकमा लागेका छन्’ पौडेलले भने ।
वरिष्ठ नेता पौडेलले साँच्चै कम्युनिष्ठ एक भएका हुन भने कम्युनिष्ट व्यवस्था लाद्ने जिकीर गरे । उनले भने, ‘कम्युनिष्ठ एकताको अहिले नाटक मञ्चन भइरहेको छ । साँच्चै कम्युनिष्ट एकता भएको हो भने कम्युनिष्ट शासन लगाउथे तर यो मिलेर मुलुकको दोहन गर्ने राणनीति मात्र हो ।’
पौडेलले २०४८ सालमा कांग्रेसले कमजोर अर्थतन्त्रलाई सुधार गरेर मुलुकको विकास गरेको दावीगर्दै पौडेलले कांग्रेसले लिएको नीतिका कारण देशको अर्थतन्त्र फष्टाएको बताए । कांग्रेसले गाँउमा बाटो विजुली, शिक्षा स्वास्थ्य संचार पु¥याएको बताउदै अहिले कांग्रेसको उद्देश्य विगतको जस्तो गाँउमा बाटो विजुली, शिक्षा स्वास्थ्य संचार नभई गाँउमा आम्दानी गाँउमा नै रोजगारी पु¥याउने भएको उल्लेख गरे ।
‘अब राजनीति व्यवस्थाको टुंगो संविधानले लगाएको छ । अब समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउनुपर्छ । त्यसका लागि अब गाँउ गाँउमा आम्दानी र रोजगारीका अवसर सृजना गर्नुपर्छ’ उनले भने ।