
काठमाडौं, २२ चैत– वरिष्ठ वामपन्थी नेता एवं २०१५ सालको संसद सदस्य कमलराज रेग्मीको ९१ बर्षको उमेरमा बिहीवार निधन भएको छ । रेग्मीको ललितपुरको धोवीघाटस्थित निवासमा निधन भएको परिवारले जनाएको छ ।
विक्रम संवत १९८४ भदौ ६ गते पाल्पामा जन्मिएका रेग्मी राणा शासनविरोधी २००७ सालको आन्दोलनमा पाल्पा जिल्लाका कमाण्डर बनेर खटिएका थिए । २०१५ सालमा पहिलोपटक भएको आम निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले देशभरबाट चार सिट जित्दा रेग्मी पाल्पाबाट विजयी भएका थिए ।
रेग्मीका श्रीमतीसहित चार छोरी र एक छोरा छन् । उनका छोरा डा प्रकाशराज रेग्मी वरिष्ठ मुटु रोग विशेषज्ञ हुन् । २०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्थामाथि प्रतिबन्ध लगएको पहिलो दिनमै गिरफ्तार भएका नेता रेग्मी केही समयमै पञ्चायतमा प्रवेश गरेका थिए ।
मृत्युको बेला कम्युनिस्ट झण्डा ओड्ने इच्छा
पञ्चायतमा लागेका रेग्मी मुलुकमा प्रजातन्त्र आएपछि निष्कृय जस्तै थिए । तर, पछि आत्मालोचना गर्दै पुनः कम्युनिष्ट पार्टीमा फर्कने ईच्छा व्यक्त गरेका थिए । ‘करिब दुई वर्ष पहिले उहाँले आफ्नो पञ्चायतमा लागेको कार्यका लागि पश्चाताप गर्दै पार्टीको सदस्यताका लागि दर्खास्त दिनुभएको थियो । उहाँले २०१० सालमा पार्टीको सदस्यताका लागि मेरो दर्खास्त लिनुभएको थियो । त्यसको करिब ६ दशकपछि उहाँले पार्टीको सदस्यताका लागि मलाई दर्खास्त दिनुभएको थियो’ नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले भने ।
रेग्मीले नै २०१० सालमा मोहनविक्रमलाई कम्युनिष्ट पार्टीको सदस्यता दिएका थिए । ‘उहाँले दर्खास्त दिने बेलामा भन्नु भएको थियो - ‘पहिले मैले तपाईबाट पार्टी सदस्यताका लागि दर्खास्त लिएको थिए । अब मैले पार्टी सदस्यताका लागि तपाईलाई दर्खास्त दिंदै छु । अब मेरो वृद्धावस्था र स्वास्थ्यका कारणले मैले सक्रिय भएर पार्टीको कुनै काम गर्न सक्दिन । तैपनि मेरो मृत्युको बेलामा पार्टीको झण्डा मलाई ओढाइयोस् भन्ने मेरो ठूलो इच्छा छ’ मोहनविक्रमले बिहीवार प्रकाशित गरेको विज्ञप्तिमा भनेका छन्, ‘तर उहाँको परिवासँग सल्लाह गर्दा उहाँलाई पार्टीको झण्डा ओढाउने कुरामा सहमति हुन सकेन र उहाँको जीवनको एउटा ठूलो इच्छा हामीले पूरा गर्न सकेनौँ ।’
महामन्त्री सिंहका अनुसार परिवारले कम्युनिष्ट पार्टीको झण्डा ओडाउन सहमति नजनाएपछि आफूहरुले जोड नगरेको बताए । ‘मर्ने बेलामा कम्युनिष्ट भएर नै मर्न पाउँ भनेर उहाँले आत्मालोचना सहित निवेदन दिनुभएको थियो’ मोहनविक्रमले बिहीवार लोकान्तरसँग भने ।