
नयाँ दिल्ली २३ चैत– तीन दिने राजकीय भ्रमणका शिलशिलामा प्रधानमन्त्री केपी शर्मा ओली केही बेरमा दिल्ली आउँदै छन् । इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अति विशिष्ठ व्यक्तिले स्वागत गर्ने तयारी छ ।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न को आउने भन्ने कुरा अहिले सम्म ‘गोप्य’ राखिएको छ । यसअघि विदेश मन्त्री सुष्मा स्वराजले नेपालका प्रधानमन्त्रीहरुलाई स्वागत गर्ने गरेकी थिइन् ।
२०६३ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा तत्कालिन प्रधानमन्त्री डा मनमोहन सिंह नै एयरपोर्टमा आएका थिए । यसपटक पनि सुष्मा भन्दा उच्च पदमा रहेका अधिकारी नै स्वागत गर्न आउने चर्चा छ ।
प्रधानमन्त्री ओलीको भ्रमणको समयमा नयाँ दिल्लीका सडकमा नेपाल र भारतका झण्डा फहराइएको छ । दिल्ली पुगेपछि प्रधानमन्त्री ओलीको पहिलो कार्यक्रम व्यवसायीहरुसंगको छलफल गर्ने रहेको छ ।