२१ जेठ २०८३, बिहीबार

विवाह गर्छु भन्दै सम्पर्क, सात महिनाकी गर्भवतीको हत्या प्रयास

चैत २३, २०७४
विवाह गर्छु भन्दै सम्पर्क, सात महिनाकी गर्भवतीको हत्या प्रयास

विराटनगर, २३ चैत–  गत फागुन २६ गते मोरङको बेलवारी नगरपालिका १० को भाउन्ने जंगलमा एक महिला वेहोस अवस्थामा भेटिईन् । स्थानीयले  त्यस बिषयमा  प्रहरीलाई जानकारी गराए ।

वेलवारीको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि वीपी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठायो । उपचारपछि ती महिलाको होस खुल्यो । 

सुनसरीको बराह नगरपालिकाकी ती महिलालाई त्यस्तो अवस्थामा पुर्‍याउनेको खोजीमा प्रहरी जुट्यो । 

अनुसन्धानका क्रममा प्रहरीले महिलाका श्रीमानले ७ वर्ष अगाडि दोस्रो विवाह गरेको तथ्य फेला पर्‍यो । श्रीमानले छाडेपछि होटलमा काम गर्ने ती महिलाको सम्पर्क सुनसरी जिल्ला बराहा नगरपालिका वडा नं. ७ का बेचु झाको छोरा वर्ष २३ को अजय झासँग हुन पुग्यो । 

झाले ती महिलालाई विवाहको प्रस्ताव राखे । श्रीमानले छोडेपछि एक्लै भएकी उनले त्यसलाई स्विकार गरिन् । विवाह गर्ने भन्दै महिलासँग झाले पटक पटक शारीरिक सम्पर्क गरे । महिला गर्भवती भइन् । 

विवाह गर्ने वाचा गरेर शारीरिक सम्पर्क गरेका झाले साथी सन्तोष तामाङसहितको सहयोगमा झापाको दमकमा डेरा खोजेको र उतै राख्छु भन्दै ती महिलालाई मोटरसाइकलमा राखेर लिएर हिँडे । 

दमकमा डेरा खोजेको छ भनेपछि उनी झासँगै गइन् । दकम लाने क्रममा महिलालाई मोरङको बेलवारी नगरपालिकाको भाउन्नेको जंगलमा लगियो । जहाँ उनीसँग विवाह गर्छु भन्दै गर्भवती बनाउने झाले साथीसँग मिलेर कुटपिट, लछारपछार गर्दै घाँटीमा सलले थिचेर अचेत अवस्थामा छोडेर भागेका थिए । 

अचेत अबस्थामा  फेला परेकी उनको उपचार गराउने क्रममा पेटमा ७ महिनाको गर्भ रहेको थाहा भयो । तर गर्भमा रहेको बच्चाको पेटमै मृत्यु भएको चिकित्सकले रिपोर्ट दिए।  उनका बाबु डोमाले ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दरखास्त दिएपछि प्रहरीले झा र तामाङको खोजी शुरु गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा पीडकलाई बिहीवार पक्राउ गर्न सफल भयो । उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ परेका अजय झालाई ज्यान मार्ने उद्योग, जबरर्जस्ती करणी र गर्भपतन अन्तर्गत म्याद थपगरी मुद्दा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण कुमार बिसीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्