
सुर्खेत, २४ चैत– शनिबारको वर्षापछिको बाढीले सुर्खेतको रामाघाटमा काटेर सुकाउन राखिएको गहुँबाली बगाएको छ । भेरीगंगा नगरपालिका वडा नं. ११ मा रहेको पात्ले खोलामा आएको बाढीले ८२ घरधुरीको खेतीबाली बगाएको हो ।
बाढीले स्थानीय लक्ष्मी कामीको घर भत्काएको छ भने अन्य पाँच जनाको घरमा क्षति आएको छ ।
करिब ११५ रोपनी खेतमा लगाइएको गहँबाली, मुसुरो, चना, आलुलगायतका अन्य बालीहरु बाढीले बगाएको छ ।
बाली भित्र्याउने बेलामा बाढीले लगेपछि किसान समस्यामा परेका छन् ।
अब बर्षभरि के खाने भन्ने चिन्ता लागेको पीडित टिका रानाले बताईन् । ‘राति २ बजे एक्कासी बाढी आयो, हामी घरबाहिरै बस्यौं ’ उनले भनिन्, ‘वर्षभरि खान पुग्ने गहँुबाली बाढीले एकेपटकमा बगाएर लग्यो ।’
कृषि पेशा गरेर जीविकोपार्जन गर्दै आएकी लक्ष्मी रानाले सधैं पातले खोलाले दुःख दिने गरेको बताईन् । ‘यो वर्ष चैतमा नै बाढी आयो ’ उनले भनिन्, ‘हरेक वर्ष असार साउनमा बाढीले घर नै जोखिममा पार्ने गरेको छ ।’ सरकारसँग बारम्बार समस्या समाधान गरिदिन आग्रह गरेपनि कतैबाट केही सहयोग अहिलेसम्म नपाएको बताईन ।
शनिबार आएको बाढीले लाखौं रुपैंया बराबरको खाद्यान्न बगाएर लगेपछि कृषक चिन्तित देखिएका छन् । कृषक सुरज खड्काले प्रदेश सरकारले आफूहरुलाई केही राहत दिनछ कि भनेर बाटो हेरिरहेको बताए । ‘सबै अन्न जति बाढीले बगाएर लगेको छ’ उनले भने, ‘सरकारले राहत दिन्छ की भन्ने आशा पालेर बसेका छौं ।’
बाढीले २०० मिटर पाईप बगाएको छ भने नाराखोला पुल निर्माणका लागि जम्मा पारिएको सबै सामाग्रीहरुपनि बगाएर लगेको वडा अध्यक्ष टिकाराम सुवेदीले बताए । उनका अनुसार स्थानीय भीमा विकका १५० ओटा कुखुरासमेत बगाएर लगेको छ ।
राहतका लागि पहल गर्छुः पूर्वाधार मन्त्री खत्री
आफ्नो निर्वाचन क्षेत्रमा बाढीले क्षति पुर्याएपछि रामाघाट पुगेका भैतिक पूर्वाधार तथा योजना मन्त्री खड्क खत्रीले पीडित किसानलाई राहत दिलाउन पहल गर्ने बताए । ‘म आफैं निरीक्षण गर्न आएको छु’ मन्त्रीले भने, ‘तपाईहरुलाई राहतको व्यवस्था प्रदेश सरकारले गर्छ र त्यसका लागि म पहल गर्छु ।’
उनले वर्षा लाग्नासाथ बाढीले समस्या दिने भएकाले यसबाट बच्ने उपायमा लाग्नुपर्ने बताए । त्यसका लागि सरकारले पहल गर्ने उनको भनाइ छ ।