
काठमाडौँ, २५ चैत - कुनै एक समूहद्वारा निर्देशित तथा सञ्चालित व्यावसायिक क्षेत्रमा अर्को समूहलाई निषेध गर्नु सिन्डिकेट हो । अर्को शब्दमा बजारमा कुनै पनि सेवा वा वस्तुको प्रतिस्पर्धाको अभाव नै सिन्डिकेट हो । अझ स्पष्ट पार्नुपर्दा कुनै एउटा वस्तु वा सेवाको एकाधिकार सिन्डिकेट हो । नेपालको सन्दर्भमा यातायात क्षेत्रमा यस्तो अवस्था छ ।
सिन्डिकेट हट्नेबित्तिकै समस्याको समाधान भने हुँदैन । राज्यले यातायात क्षेत्रमा केही तयारी गर्यो भने मात्र राम्रो परिणाम दिन सक्छ । कम्तीमा पनि कुन ठाउँमा सवारीसाधन कति छन् र यात्रु कति छन् भन्ने विवरण सरकारसँग हुन आवश्यक छ । तर, अहिलेसम्म सरकारसँग यस्तो विवरण छैन । यसकारण नयाँ आउने सवारीसाधन व्यवस्थापनको गुरुयोजना हुनुपर्छ । यात्रु र सवारीसाधनको अनुपातको विवरण अद्यावधिक गरिनुपर्छ । त्यस्तै, कुन सडकमा कस्ता सवारीसाधन गुडाउने, कति संख्यामा गुडाउने भन्ने योजना बनाएर अघि बढ्दा समस्याको समाधान हुन्छ । होइन भने एउटा सिन्डिकेट हट्छ र अर्को जन्मन्छ । तर, विभागले आवश्यक तथ्यांक संकलन थालेको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईको दाबी छ । -नयाँ पत्रिकामा खबर छ |