०७ असार २०८३, आइतबार

मुख्य समाचार : ‘नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा’, एसएसपी लोहनीसहित ३ अधिकारी हेडक्वार्टर तानिए

मुख्य समाचार : ‘नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा’, एसएसपी लोहनीसहित ३ अधिकारी हेडक्वार्टर तानिए

काठमाडौं, २५ चैत– नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, लाभ र सम्मानका आधारमा नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन मिलेर काम गर्न तयार रहेको बताए ।

नयाँ दिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य आवश्यक रहेको बताएका हुन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल र भारत द्विपक्षीय सम्बन्धको बारेमा मोदीले गरेको सम्बोधनको लागि धन्यवाद दिँदै मोदीसँग धेरै विषयहरुमा कुरा गरेको जानकारी गराए । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिए । 

यस्तै पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल तीनै तहको निर्वाचन सम्पन्न गरेर नयाँ अध्यायमा अघि बढेकोमा बधाई दिँदै सगरमाथाको देश नेपाललाई सागरसँग जोड्न आफू तयार रहेको बताए ।


१२ बुँदे संयुक्त वक्तव्य– प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशबीच कृषि क्षेत्रमा नवीन साझेदारी, भारतको रक्सौलदेखि काठमाडौँसम्म इलेक्ट्रिफाइड रेल लिंक र इनल्याण्ड वाटर कनेक्टिभिटीका क्षेत्रमा तीन वटा सहमति भएको छ । 

संयुक्त रुपमा जारी गरिएको १२ बुँदे संयुक्त वक्तव्यमा तीन नयाँ समझदारी समेटिएका छन् । तीनै विषयमा छुट्टाछुट्टै समझदारी भएको छ । कृषिसम्बन्धी समझदारी अनुसार अब नेपाल र भारतले संयुक्त रूपमा कृषि क्षेत्रको विकासमा काम गर्ने छन् । त्यस्तै, दुबै पक्षले निर्यातमा समेत जोड दिनेछन् । दुबै पक्षले माटोको स्वास्थ्य तथा नयाँ बिऊ बिजन उत्पादनमा समेत अनुसन्धानमा सहकार्य गर्नेछन् ।

त्यस्तै, जलमार्गसम्बन्धी समझदारी अनुसार नेपालले अब कार्गोहरूको ढुवानी जलमार्ग मार्फत् गर्न पाउने छ । समझदारीमा भनिएको छ– ‘व्यापार तथा पारवान सम्झौताअन्तर्गत रहेर जलमार्ग मार्फत कार्गो ढुवानीका लागि भारतले नेपाललाई समुन्द्रसम्मको पहुँच दिने ऐतिहासिक समझदारीमा दुई प्रधानमन्त्री सहमत छौँ ।’

जलमार्गसम्बन्धी व्यवस्था समेट्न दुई देशबीच व्यापार तथा पारवाहन सम्झौता संशोधनका लागि आवश्यक गृहकार्य गर्ने समझदारी समेत भएको छ । त्यस्तै, नेपाल र भारतबीच एक वर्षभित्रै काठमाडौं र रक्सौल जोड्ने रेलको सम्भाव्यता अध्ययनको सहमति भएको छ । रेलको सर्वे भारतले गर्नेछ । सर्वेपछि दुई मुलकको आपसी समझदारीमा लगानीको मोडल र विस्तृत परियोजन निर्माण अगाडि बढाइनेछ ।

त्यस्तै, नेपाल र भारतबीच तीन नयाँ ठाउँबाट भारतीय रेल नेपाल जोड्न समझदारी भएको छ । जलपाइगुडीबाट काकडभित्ता, नौतनवाबाट भैरहवा र नेपालगञ्जमा भारतीय रेल जोड्ने समझदारी भएको छ ।
संयुक्त वक्तव्यमा भारतले नेपालमा सञ्चालन गरिरहेको आयोजनाहरूलाई गति दिने उल्लेख छ । 


एसएसपी लोहनीसहित ३ अधिकारी हेडक्वार्टर तानिए– महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीसहित ३ जना अधिकारी प्रहरी केन्द्रीय कार्यालय हेडक्वार्टर तानिएका छन् । चीनबाट नेपाल तस्करी गरेर ल्याइएको ३३ किलो सुन प्रकरणसँग जोडिएको सनम शाक्य हत्याकाण्ड प्रकरणमा संलग्न रहेका भनिएका एसएसपी लोहनीसहित प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतिज केसी र प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई प्रहरी हेडक्वार्टर तानिएको हो । 

सो प्रकरणमा प्रहरी अधिकारीकै संलग्नता रहेको खुलेपछि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धान गर्न छुट्टा छुट्टै छानविन समिति गठन गरेको थियो । दुवै समितिले घटनामा एसएसपी लोहनीसहित डिएसपी केसी र सई सञ्जेलको संलग्नता देखिएको प्रारम्भिक प्रतिवेदन तयार गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो । 

गृह मन्त्रालयले सहसचिव ईश्वरी पौडेलको संयोजकत्वमा तथा प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वमा बेग्लाबेग्लै छानविन समिति गठन गरेको थियो । दुवै समितिले घटनामा संलगन रहेको भन्ने आशंकामा एसएसपी लोहनीसहित प्रहरी अधिकारी र कर्मचारीमाथि अनुसन्धान गरेको थियो । 

मोरङको उर्लावारी नगरपालिका– ७ का ३६ वर्षीय सनम शाक्य २१ फागुनमा मृत भेटिएका थिए । स्कार्पियो गाडीमा मृत अवस्थामा भेटिएका शाक्यलाई सोल्टी खोलाको जंगलमा यातना दिएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको थियो । तस्करीको सुनमा विवाद भएपछि तस्कर समूहले नै उनको हत्या गरेको मोरङ प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट फेला परेको थियो ।

सचिव सरुवाले सरकारमा खटपट- बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि आफूहरूलाई जानकारी समेत नदिइएको भन्दै माओवादीका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष विरोध जनाउने भएका छन् ।

सचिव सरुवा गर्ने निर्णय भएको भोलिपल्ट (शुक्रवार) सञ्चारमाध्यममार्फत सचिवहरूको सरुवाबारे जानकारी पाएको माओवादीका मन्त्रीहरूको भनाइ छ । सचिवहरूको सरुवा गर्ने निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको नेकपा माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू बताउँछन् ।

शुक्रवार राति ९ देखि १२ बजेसम्म गृहमन्त्रीसमेत रहेका माओवादी नेता रामबहादुर थापा ‘बादल’को पुल्चोकस्थित सरकारी निवासमा भएको माओवादी मन्त्रीहरूको भेलाले सचिव सरुवा गर्ने निर्णयको आन्तरिक विरोध गर्ने निर्णय गरेको हो ।

‘प्रधानमन्त्रीले एकलौटीरूपमा सचिवहरूको सरुवा गरेर मन्त्रीको अधिकारमाथि अंकुश लगाउन खोज्नुभएको जस्तो देखिन्छ,’ माओवादी केन्द्र्रबाट प्रतिनिधित्व गर्ने एक मन्त्रीले लोकान्तरसँग भने, ‘यस्तो निर्णयको हामीले विरोध गर्ने निर्णय गरेका छौं ।’

आफ्नो मन्त्रालयमा कस्तो सचिव आउँदैछन् भन्ने पूर्वजानकारी समेत नदिइनु दुःखद् भएको ती मन्त्रीले बताए । ‘आफ्नो मन्त्रालयमा कुन र कस्तो स्वभावको सचिव आउँदैछन् भन्ने सामान्य जानकारीसमेत हामीलाई दिइएन्,’ ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले सचिव सरुवाको निर्णयमा मन्त्रीको अधिकारमाथि नै अंकुश लगाउन खोज्नुभएको देखिन्छ । यसले काम गर्न अप्ठ्यारो पर्छ ।’

माओवादीका मन्त्रीहरूले प्रधानमन्त्रीको कार्यशैलीप्रति पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर विरोध जनाउने समेत जनाएका छन् ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ३० जना सचिवको सरुवा गर्ने निर्णय गरेको जनाइएको छ ।

धनगढी प्रिमियर लिग– धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत घरेलु टिम चौराहा धनगढी प्लेअफमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा रुपन्देही च्यालेञ्जर्सलाई ३ रनले पराजित गर्दै धनगढीले प्लेअफमा स्थान पक्का गरेको हो । 

यसअघि नै बाहिरिसकेको रुपेन्देही समूह चरणका सबै खेलमा पराजित हुने क्रममा लगातार पाँचौ खेलमा पनि पराजित भएको छ । रुपन्देही र धनगढीबीचको खेल वर्षाका कारण प्रभावित बनेपछि ८ ओभरमा घटाइएको थियो । 
८ ओभरमा ७७ रनको लक्ष्य पछ्याएको रुपन्देहीले ५ विकेटको क्षतिमा ७३ रन मात्र जोड्न सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित  ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन जोडेको थियो । 
यसअघि, पानी परेर खेल स्थगित भएपछि डीपीएल क्रिकेटमा महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तिरियाले एक एक अंक बाँडेका छन् । गएराति बर्षाको कारण मैदान ओसीलो भएपछि आजबिहान ९ बजे हुने भनिएको खेल स्थगितभएको हो । 
९ बजेको समय सारेर विहान ११ बजेका लागि तय गरिएको खेल पनि हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्