
सुर्खेत, २५ चैत- कर्णाली प्रदेश सरकारले आयोजना गरेको कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को उद्घाटन सत्रमा रारा आउन नेपालका सबै शीर्ष नेताहरु आतुर देखिएका छन् ।
कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउने मुख्य उदेश्यका साथ वर्षभरि पर्यटन प्रर्वद्धन गरेर मनाउने योजना बनाइएको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रारा आउन आतुर भएका हुन् ।
रारा भ्रमणको निम्तो दिन बुढानिलकण्ठ पुगेका मुख्यमन्त्री शाहीलाई देउवाले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पर्यटन मेरुदण्ड हुनसक्ने बताएका थिए ।
पूर्व प्रधानमन्त्री देउवाले देशको प्रगतिका लागि कर्णाली क्षेत्रको विकास अनिवार्य भएको बताउँदै आफूहरु कर्णालीको विकासमा सहकार्य गर्न तयार रहेको बताएका थिए । ‘उहाँ रारा आउन असाध्यै इच्छुक हुनुहुन्छ ’ मुख्यमन्त्री शाहीले भने, ‘पर्यटनको पर्याप्त सम्भावना भएको कर्णाली प्रदेश भएकाले नेपाली काँग्रेसले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’
मुख्यमन्त्री शाहीले रारा आउन एमालेका बरिष्ठ नेता माधव कुमार नेपाललाई पनि निम्तो दिएका छन् । उनका अनुसार नेता नेपालले कर्णाली प्रदेशले आयोजना गरेको महत्वाकांक्षी योजना सफल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
‘नेपाल ज्यूले कर्णाली प्रदेशको समृद्धिका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो’ शाहीले भने, ‘केन्द्र सरकारले कर्णालीलाई विशेष ध्यान दिनेछ ।’ आगामी वैशाख १ गते रारामा आयोजना हुन लागेको कार्यक्रममा सभामुख कृण्णबहादुर महराको पनि सहभागिता हुने भएको छ ।
यता, मुख्यमन्त्री शाहीले पैसा तिरेर रारा जान चाहनेहरुका लागि भन्दै नेपालगञ्ज र सुर्खेत विमानस्थलमा जहाज तयारी अवस्थामा राखिदिन पर्यटन मन्त्री रविन्द्र अधिकारीसँग आग्रह गरेका छन् । मुख्यमन्त्रीको उक्त आग्रहपछि मन्त्री अधिकारी सकारात्मक भएका र उक्त व्यवस्था गराउन पहल गर्ने प्रतिबद्धता जनाएका मुख्यमन्त्री शाहीले बताए ।