
काठमाडौं, २५ चैत– भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधी (पीएचडी)को उपाधि प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि एवम् प्रौद्योगिक विश्वविद्यालयबाट मानार्थ पीएचडीको उपाधि ग्रहण गरेका हुन् ।
विश्वविद्यालयमा आइतवार भएको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई मानार्थ उपाधि दिइएको हो । प्रधानमन्त्री ओलीले उपाधि ग्रहण गरेपश्चात विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गरेका छन् ।
विद्यावारिधीको उपाधि ग्रहण गर्न उत्तराखण्ड पुगेका ओलीले त्यहाँ रुद्राक्षको विरुवा समेत रोपेका छन् । उत्तराखण्डमा ओलीले प्राङ्गारिक खेतीको अवलोकन गर्ने कार्यक्रम समेत छ ।