
काठमाडौं, २५ चैत– चीनबाट तस्करी गरेर नेपाल ल्याइएको ३३ किलो सुन प्रकरणमा राप्रपा प्रजातान्त्रिकका नेता समेत पक्राउ परेका छन् ।
काठमाडौंको ठमेलस्थित मनाङ होटेलका सञ्चालक समेत रहेका भुजुङ गुरुङ सुन तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् ।
गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतवार विहान पक्राउ गरेको हो । गुरुङसँगै ३३ किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगिसकेको छ ।
केही महिला अगाडि काठमाडौंबाट समातिएको ८८ किलो सुन तस्करीमा समेत गुरुङको नाम जोडिएको थियाे ।
३३ किलो सुन तस्करी र सोही सुन तस्करीसँग मोरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्ड सम्बन्धी छानवीन गर्न गृह मन्त्रालयले गठन गरेको टोलीको निर्देशनका आधारमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । गृह मन्त्रालयले सहसचिव ईश्वरी पौडेलको संयोजकत्वमा गठित समितिले ३३ किलो सुन प्रकरणमा अपाराध महाशाखाकै प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीको समेत संलग्नता रहेको भन्दै उनलाई प्रहरी प्रधान कार्यालय तान्न निर्देशन दिएको थियो ।
समितिको निर्देशनबमोजि एसएसपी लोहनीसहित अपराध महाशाखामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसी र प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सन्जेललाई हेडक्वार्टर तानिएकाे छ ।
३३ किलो सुन तस्करीमा संलग्नले सुन तस्करीमा भरिया भनिएका शाक्यको हत्या गरेका प्रहरीको भनाइ छ ।
मोरङको उर्लावारी नगरपालिका– ७ का ३६ वर्षीय शाक्य २१ फागुनमा मृत भेटिएका थिए । स्कार्पियो गाडीमा मृत अवस्थामा भेटिएका शाक्यलाई सोल्टी खोलाको जंगलमा यातना दिएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको थियो । तस्करीको सुनमा विवाद भएपछि तस्कर समूहले नै उनको हत्या गरेको मोरङ प्रहरी गरेको प्रारम्भिक अनुसन्धानबाट फेला परेको थियो ।
शाक्यको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले २१ फागुनमै ३ जनालाई पक्राउ गरेको थियो । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भन्ने नरेन्द्र कार्की, उर्लाबारी–५ का मोहन काफ्ले र काभ्रे मण्डन देउपुर गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
चीनबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन हराएपछि गिरोहले शाक्यलाई यातना दिएर हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।