
सुर्खेत, २६ चैत– संसद् बैठक सुरु भएको करिब दुई महिनापछि कर्णाली प्रदेशका सांसदको औपचारिक पोसाक निर्धारण गरिएको छ । संसद्को कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि पोेसाक निर्धारण गरेको हो ।
अब कर्णाली प्रदेशका सांसद तोकिएको पोसाकमा संसद् बैठकमा सहभागी हुनुपर्नेछ । संसद्मा पुरुष र महिला सांसदका लागि पोसाकमा कोट तोकिएको छ ।
यस्तै पुरुष सांसदका लागि भने कालो भादगाउँले टोपी अनिवार्य गरिएको छ । यसअघि संसद्ले कार्यव्यवस्था परामर्श समितिले तोकेको पोसाकलाई अपनाउने निर्णय गरेको थियो। यसअनुसार समितिले आइतबार सांसदको पोसाकबारे टुंगो लगाएको हो ।
महिला सांसदका लागि कोट निर्धारण गरिएको छ भने ढाकाको धोती वा सारी विकल्पका रूपमा तोकिएको छ । यस्तै पुरुष सांसदका लागि कोट र भादगाउँले कालो टोपी अनिवार्य गरिएको छ ।
पुरुष सांसदको हकमा दौरासुरुवाल र पाइन्टलाई पनि विकल्पमा दिइएको छ । यस्तै महिला सांसदको हकमा चोली र पाइन्ट विकल्पका रूपमा तोकिएको छ ।
समितिले निर्धारण गरेको पोसाकका आधारमा सांसदहरू संसद् बैठकमा सहभागी हुनुपर्नेछ । कोटको रङ भने खैरो र हल्का उज्यालो हुने संसद् सचिवालयले जानकारी दिएको छ । कार्यव्यवस्था परामर्श समितिले पोसाकको टुंगो लगाएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिए ।
संसद बैठक सोमबार दिउँसो १ बजेका लागि डाकिएको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।