
सुर्खेत, २६ चैत– नेकपा एमालेका नेता ऋषि शर्माको हत्या भएको एक दशक पुगेको छ । यसबीचमा एमाले धेरै पटक सत्तामा पुगे पनि घटनाको सत्यतथ्य छानविन हुन सकेको छैन । घटना रहस्यको गर्भमा नै छ ।
पहिलो संविधानसभाको निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमालेकाे तर्फबाट उम्मेदवार बनेका शर्मालाई २०६४ साल चैत २६ गते भेरीगंगा नगरपालिकाको लोदेमा गाडी भित्रै गोली हानेर हत्या गरिएको थियो । हत्याको दश वर्ष भइसक्दा पनि घटनाको छानविन हुन नसक्नु दुखद् भएको एमालेका स्थानीय कार्यकर्ता बताउछन् ।
ऋषिको सम्झनामा उनका भाइ डण्डिप्रशाद शर्माको अध्यक्षतामा प्रतिष्ठिान गठन भएको छ । प्रतिष्ठिानले अहिलेसम्म विद्यालयमा अक्षयकोष स्थापना गर्ने, पार्टी कार्यालय निर्माणमा सहयोग गर्ने र हरेक बर्षको चैत २६ गते स्मृति मनाउने बाहेक अन्य काम नगरेकाे अाराेप लाग्ने गरेकाे छ ।
हत्या प्रकरण कसरी भयो, किन भयो ? भन्ने बारेमा उल्लेख्य काम नगरेको पार्टी कार्यकताको गुनासो छ ।
वीरेन्द्रनगरमा सोमबार मनाइएको ऋषि स्मृति दिवसमा पनि हत्यारालाई कारवाही गरिने कसैबाट प्रतिबद्धता आएन । स्थानीय तह, प्रदेश र केन्द्र सरकारको नेतृत्वमा एमाले छ । एमाले नेतृत्वको सरकारले घटनाका विषयमा वास्तविकता बाहिर ल्याउनेमा कार्यकर्ता आशावादी छन् ।
ऋषिको बाटोमा अघि बढ्नेः नेता कंडेल
नेकपा एमालेका पालिटब्यूरो सदस्य यामलाल कंडेलले ऋषि शर्माको बाटोमा हिड्ने बताएका छन् । ‘ऋषि कामरेडले खोजेको व्यवस्था अहिले आएको छ ।’ उनले भने, ‘हामी यो व्यवस्थालाई प्रयोग गर्दै समाजवाद उन्मुख अर्थ व्यवस्थामा जाने तयारीमा छौं ।’ नेता कंडेलले शर्माले परिकल्पना गरेको राजनीतिक व्यवस्था ल्याइएको र अब ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाएर उनको सपना पुरा गरिने बताए ।
कंडेलले एमालेले अब आवाज उठाउने दिन गएको बताउँदै भने, ‘हिजो हामी आवाज उठाउने ठाँउमा थियौं । तर अब समय बदलिएको छ । हामी हरेक सरकारमा सहभागि छौं । हामीले काम गरेर देखाउनुपर्ने चुनौति आएको छ ।’ नेता कंडेलले विगतमा जुनसुकै पेशामा लागेका व्यीक्तलाई राजनीतिक परिवर्तनका लागि आन्दोलनमा सहभागि गराए पनि अब भने समृद्धिका लागि परिचालित गरिने बताए ।
नेकपा एमालेका अध्यक्ष ध्रुवकुमार शाहीले ऋषि शर्माले देखाएको बाटोमा सदैवअघि बढिरहने बताए । ‘उहाँले देखाएको बाटोमा सधैं प्रतिबद्ध भएर लागिरहने छौं ।’ उनले भने, ‘उहाँ एक कुशल संगठन, प्रष्ट वक्ता र जनताप्रति उत्तरदायी नेता हुनुहुन्थ्यो ।’
कार्यक्रममा ऋषि स्मृति प्रतिष्ठानका अध्यक्ष डण्डि प्रशाद शर्माले जिल्लाका विभिन्न विद्यालयमा प्रतिष्ठानले अक्षयकोष स्थापना गरेको बताए । यसका साथै आगामी दिनमा पनि थप सामाजिक कार्यमा सरिक भइरहने उनको भनाइ थियो ।
प्रतिष्ठानले गत जेठ ६ मा पञ्चपुरीमा दुर्घटनामा परेका तुलबहादुर सहकारी र रतन विसीलाई उपचार खर्च वापत रु १५ हजार सहयोग गरेको छ । उनीहरुको उपचारमा सहयोग गर्न कतारबाट नवराज सापकोटाको समन्वयमा पठाइएको २५ हजार रकम पनि हस्तान्तरण गरिएको छ ।
प्रतिष्ठानले नेपाल राष्ट्रिय आधारभूत विद्यालय चिसापनीमा रु ५० हजारको अक्षयकोष स्थापना गरेको एमाले पार्टी सचिव मोहन बडुवालले जानकारी दिए ।
यही वर्ष हत्यारा पत्ता लगाइने
एमाले पार्टी सचिव मोहन बडुवालले यहि वर्ष सुर्खेती जनताले हत्यारा को हो थाहा पाउने बताए । ‘प्रदेश सरकार र केन्द्र सरकार हाम्रै छ ।’ उनले भने, ‘यहि वर्षमा हामी हत्यारालाई पत्ता लगाउछौं र हत्यारालाई हदैसम्मको कारवाही गर्छौं ।’
सचिव मोहन बडुवालले शर्मा हत्या काण्डमा अदृश्य शक्तिको हात रहेको हुनसक्ने भन्दै जसरी पनि हत्यारालाई समाति छाड्ने प्रतिबद्धता जनाए ।