०५ साउन २०८३, मंगलबार

भारतसँग भएको सम्झौताको स्वागत गर्दै साझा पार्टीले भन्यो- 'रेलचाहिँ आधुनिक प्रविधिको ल्याउनू'

भारतसँग भएको सम्झौताको स्वागत गर्दै साझा पार्टीले भन्यो- 'रेलचाहिँ आधुनिक प्रविधिको ल्याउनू'

काठमाडौं, २६ चैत- विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भएका कृषि, जलमार्ग र रेलमार्गसम्बन्धी सम्झौताको स्वागत गरेको छ ।

पार्टी प्रवक्त सूर्यराज आचार्यले सोमबार एक विज्ञप्ति जारी गरी ती योजनाहरूको प्राविधिक र व्यवस्थापकीय पक्ष निर्क्यौल गर्दा नेपालको प्राथमिकता र राष्ट्रिय हितको सुनिश्चितता गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

'नेपालको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने नेपाल-भारतबीचको समझदारीलाई हामी स्वागत गर्दछौं,' विज्ञप्तिमा लेखिएको छ, 'जलमार्ग र रेलमार्गका आयोजनाहरूको प्राविधिक र व्यवस्थापकीय पक्ष निर्क्यौल गर्दा नेपालको प्राथमिकता र राष्ट्रिय हितको सुनिश्चितता गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।'

साथै विज्ञप्तिमा रेलमार्ग निर्माण गर्दा आधुनिक प्रविधि अपनाउन माग गरिएको छ । 'भारत सरकारको सहयोगमा सञ्चालित पूर्वाधार विकासका आयोजनाको कार्यान्वयनमा वर्षौंको ढिलासुस्तीको तितो यथार्थको पृष्ठभूमिमा काठमाडौं-वीरगञ्ज यातायात कोरिडरको रणनीतिक महत्त्वलाई आत्मसाथ गर्दै प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको प्राविधिक तयारी र कार्यान्वयनमा सतर्कताका साथ तदारुकता अपनाउन हामी नेपाल सरकारलाई आग्रह गर्दछौं,' विज्ञप्तिमा भनिएको छ,'प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गका लागि दीर्घकालीन सोचसहित हाल विश्वमा प्रचलित आधुनिक रेलप्रविधि अपनाउनेतर्फ नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं ।'

साथै साझा पार्टीले नयाँ परिवेशमा नेपाल-भारत सीमा विवाद, सीमा क्षेत्रका भारतीय बाँधले नेपालमा सिर्जित बाढीको समस्या, अलपत्र परेका भारतीय सहयोगमा निर्माणाधीन आयोजना र भारतसँग नेपालको बढ्दो व्यापार घाटा यथाशीघ्र समाधानार्थ विशेष पहल पनि आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्