
काठमाडौं, २६ चैत- सरकारले उपभोक्ता तथा उद्योग क्षेत्रका समस्या समाधानका लागि गुनासो व्यवस्थापन कक्ष खडा गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार (आज) सो कक्षको औपचारिक उद्घाटन गर्न लागेको मन्त्रालयले जनाएको छ ।
गुनासो व्यवस्थापन कक्षमा उद्योग क्षेत्रका र उपभोक्ताहरूका समस्या दर्ता गर्न सकिने र तत्काल व्यवस्थापनका लागि पहल गरिने मन्त्रालयले जनाएको छ । गुनासो व्यवस्थापन कक्षमा एकजना अधिकृत रहनेछन् भने एक टोलफ्री नम्बर समेत रहनेछ ।
गुनासो व्यवस्थापन कक्षको औपचारिक उद्घाटनपश्चात उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव सोमबार नै भारतको नयाँ दिल्ली प्रस्थान गर्ने उनका सहयोगी सन्तोष विष्टले जानकारी दिए ।
भारतको नयाँ दिल्लीमा हुन लागेको इन्टरनेसनल इनर्जी फोरम (आईईफ) मा भाग लिन सोमबार बेलुका मन्त्री यादव दिल्ली जान लागेका हुन् ।
मन्त्री यादवले फोरममा नेपालमा ऊर्जाको अवस्थाबारे कुरा राख्ने बताइएको छ । चैत ३० गतेसम्म भारतमा रहँदा मन्त्री यादवले भारतका वाणिज्य मन्त्रीसँग भेट गर्ने औपचारिक कार्यक्रम समेत तय भएको छ ।