
काठमाडौँ, २७ चैत- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई साताभित्र कम्तीमा २० हजार कर्मचारीलाई एकैसाथ स्थानीय तहमा खटाउने तयारी गरेको छ । गृहकार्य अन्तिम चरणमा पुगेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।
मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरेर स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी पठाउन लागेको उनले बताए । ‘सरुवा मापदण्ड अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘मापदण्ड स्वीकृत भएसँगै त्यसकै आधारमा सार्वजनिक सूचना निकाल्ने तयारीमा छौँ ।
त्यही सूचनाअनुसार करिब २० हजार कर्मचारी स्थानीय तहमा खटिँदै छन् ।’ उनले एक–दुई दिनमै स्थानीय तहमा कर्मचारी खटाउन सार्वजनिक सूचना प्रकाशित हुने बताए । स्थानीय तहमा व्यवस्थित रूपमा कर्मचारी खटाउन मन्त्रालयले सरुवाको मापदण्डसहितको सूचना निकाल्न लागेको जनाएको छ ।
यस्तो सूचना आउँदै छ
सरकारले स्थानीय तहका लागि करिब ३७ हजार कर्मचारी रहने अन्तरिम दरबन्दी स्वीकृत गरेको छ । त्यसमध्ये स्थानीय तहमा अहिलेसम्म करिब १७ हजार कर्मचारी कार्यरत छन् । बाँकी आवश्यक २० हजार कर्मचारी पठाउन मन्त्रालयले तयारी थालेको हो ।
मन्त्रालयले एक–दुई दिनमै सार्वजनिक सूचना निकालेर सरुवा भएर जान चाहेको स्थानीय तह रोज्न लगाउने जनाएको छ । सरुवा मापदण्डअनुसार कर्मचारीले पदीय ज्येष्ठताका आधारमा स्थानीय तह रोज्न सक्नेछन् ।
मापदण्डअनुसार रोज्नेलाई रोजेको ठाउँमा र स्थानीय तह नरोजी बस्नेलाई मन्त्रालयले आवश्यक परेको ठाउँमा खटाउने तयारी गरेको छ, नयाँ पत्रिकामा खबर छ ।