२१ जेठ २०८३, बिहीबार

मुख्य समाचार : यातायात समिति खारेजीको तयारी, बिनापैसाका ठेक्काले हजार योजना अलपत्र

मुख्य समाचार : यातायात समिति खारेजीको तयारी, बिनापैसाका ठेक्काले हजार योजना अलपत्र

काठमाडौं, २९ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको बिगु गाउँपालिका–१ मा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बुधबार स्थलगत अनुगमन तथा निरीक्षण गर्दै कर्मचारीलाई तोकिएको समय तालिकाभन्दा एक दिन ढिलाई नगरी आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री ओलीले बहुचर्चित ४५६ मेगावाटको सो आयोजनाको सुरुङ मार्ग र बाँधस्थलको अनुगमन तथा निरीक्षण गर्दै आयोजनाका कर्मचारीले गैरजिम्मेवारी देखाउने र लापरबाही गर्ने काम वर्तमान सरकारले हुन नदिने बताए । प्रधानमन्त्री ओलीले ऊर्जा मन्त्री, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक समेतलाई सँगै राखेर आयोजनाका कर्मचारीलाई आयोजना निर्माणका क्रममा कुनै समस्या वा बाधा अड्चन आए सिधैं आफूलाई खबर गर्न आग्रह गरे ।

हालसम्म आयोजनाको ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । आयोजनाले आगामी २०७५ साल पुस मसान्तसम्म पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ भने सबै छबटा युनिटबाट विद्युत उत्पादन २०७६ साल वैशाखबाट गर्ने बताइएको छ । 

यातायात समिति खारेजीको तयारी– यातायात समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले ती समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा सिन्डिकेट लाद्न सक्रिय रहेको सरकारको निष्कर्ष छ । 

सरकारको कदमबाट ३ सय ५ यातायात सेवा समिति खारेज हुनेछन् । गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्धी कुनै पनि सेवा समिति नवीकरण गरिनेछैन ।

विगतमा संसद्को विकास समितिले समेत यातायात सेवा समिति नवीकरण नगर्न आदेश दिएको थियो । गृहले यो नियम लागू गराए यातायात क्षेत्रमा व्यवसायीबाट लगाइएको सिन्डिकेट कानुनी रूपमै अन्त्य हुनेछ । 

१० बुँदे मार्गचित्र सार्वजनिक– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मन्त्रालयको १० बुँदे मार्गचित्र सार्वजनिक गरेका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको पुर्नगठन गर्ने तथा आयोगको सिफारिसको आधारमा समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माण गर्न संघीय व्यवस्था अनुकुल शिक्षा नीति लागू गर्ने बताए । 

यस्तै  पुरानो शिक्षा प्रणाली खारेज गरी नयाँ वैज्ञानिक शिक्षा  लागू गर्ने, कक्षा १ देखि १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने, हरेक प्रदेशमा १–१ वटा मृतिभाषी विद्यालय सञ्चालनमा ल्याइने १० बुँदे मार्गचित्रमा उल्लेख छ । नीजि विद्यालयमा १० विद्यार्थी बराबर एक गरिव तथा विद्यार्थीलाई अध्यापन  गर्ने व्यवस्था गरिने पनि उल्लेख छ । 

डीआईजी रमेश खरेलको राजीनामा स्वीकृत– नेपाल प्रहरीको महानिरीक्षक बढुवाप्रति असन्तुष्ट रहेका डीआईजी रमेश खरेल प्रहरी सेवाबाट बाहिरिएका छन् । खरेलले आईजीको बढुावमा असन्तुष्टी जनाउँदै बुधवार मध्याह्न पदबाट राजीनामा दिएका थिए । 

गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको छ । खरेलले बुधवार घरायसी समस्याका कारण भन्दै प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । प्रहरी प्रधान कार्यालयबाट गृह मन्त्रालय पुगेको उनको राजीनामा पत्र गृहमन्त्री रामबहादुर थापा बादलले स्वीकृत गरेका हुन् । 

एसएसपीबाट डिआईजीमा बढुवा हुँदा बरियताका आधारमा दोस्रो नम्बरमा रहेका खरेल आईजीका प्रबल दावेदार थिए । तर सरकारले बरियताका आधारमा पहिलो नम्बरमा रहेका सर्वेन्द्र खनाललाई आईजीमा बढुवा गरेपछि खरेलले राजीनामा दिने घोषणा गरेका थिए । 

आर्थिक वृद्धिदर ५.५– एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । काठमाडैंमा सार्वजनिक भएको बैंकको प्रमुख वार्षिक प्रकाशन ‘एशियाको विकास परिदृश्य’अनुसार चालु आर्थिक वर्षमा मन्द गतिमा भएको आर्थिक वृद्धि पनि ४ दशमलव ९ प्रतिशतमा नै सीमित रहने अनुमान गरिएको छ । 

आगामी आर्थिक वर्षमा मनसुन सामान्य हुने, चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४ सय ५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने सम्भावनामा केन्द्रित रहेर एडिबीले उक्त प्रक्षेपण गरेको हो । 

प्रदेश नं २ को नीति कार्यक्रम– प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक वर्ष २०७४÷०७५ को प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधार प्रदेशसभामा प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा सुशासन, सशक्तीकरण र विकासलाई प्रमुख प्राथमिकतामा राख्दै लगानीमैत्री प्रदेशका रूपमा विकास गरी लगानीकर्तालाई प्रोत्साहित गरिने उल्लेख छ । 

प्रदेशको विद्यमान आर्थिक, सामाजिक, पूर्वाधार विकास, मानव विकासको तथ्यपरक चित्र झल्काउने तथ्याङ्कको संकलन, प्रशोधन गरी सार्वजनिकीकरण गर्ने, संघको सहयोग र सहकार्यमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन आवधिक योजना ल्याइने, मधेश भूमिलाई मरूभूमि हुनबाट जोगाउन चुरे संरक्षणसम्बन्धी नीति ल्याइने उल्लेख छ । 

सुनकोशी–कमला डाइभर्सन सिँचाइ आयोजना निर्माण गर्न संघीय सरकारसँग सहकार्य र समन्वय गरिनुका साथै वाग्मती र नारायणी सिँचाइलाई प्रभावकारी बनाउन संघीय सरकारसँग सहकार्य गरिने, आठवटै जिल्लामा साना र मझौला सिँचाइ आयोजना निर्माणका लागि डिपिआरको प्रक्रिया थालनी गरिने छ । माछापालन व्यवसायलाई आकर्षक व्यवसायका रूपमा विकास गर्ने, डेरी उद्योग, तरकारी प्रशोधन, जुस प्रशोधन जस्ता साना उद्योग स्थापना गरिने बताइएको छ । 

बिनापैसाका ठेक्काले हजार योजना अलपत्र-  सडक विभागले बजेटको बन्दोबस्तीबिना बहुवर्षीय ठेक्का गर्दा साढे दुई खर्ब रुपैयाँ बराबरका एक हजारभन्दा बढी योजना अलपत्र परेका छन्। यसले गर्दा विभागको आर्थिक दायित्व मात्र सिर्जना भएको छ भने योजना पूरा हुने अत्तोपत्तो छैन। अर्थ मन्त्रालयले योजनाको सहमति दिने तर बजेट निकासा नगर्ने प्रवृत्ति बढेपछि यस्तो अवस्था उत्पन्न भएको हो।

चार, पाँच वर्षभित्र सक्ने गरी ठेक्का लागेका तर भुक्तानी दिने पर्याप्त रकम नभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ८१ वटा कार्यक्रमअन्तर्गत हजारभन्दा बढी योजना सञ्चालनमा छन्। आवश्यक बजेट विनियोजन नै नहुने र भए पनि अति थोरै हुने हुँदा यस्ता आयोजनामा समस्या पर्ने गरेको भौतिक मन्त्रालय योजना महाशाखाका सहसचिव एवं प्रवक्ता राजेन्द्रराज शर्माले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।


प्रदेश ७ मा १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत– प्रदेश नं ७ को सरकारले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी एवं सहकारी क्षेत्रको सहभागितालाई प्रोत्साहन दिइएको छ । 

प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले चालू आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिका लागि सरकारको नीति तथा कार्यक्रम सम्बोधनसहित वाचन गरे । प्रस्तुत नीति तथा कार्यक्रममा नेपालको संविधान र प्रदेश सरकार कार्यविभाजन नियमावली, मौलिक हक, मानवाधिकार कार्यान्वयनका लागि आवश्यक कानूनको तर्जुमा एवं संगठनात्मक विकास गर्न सरकार निर्देशित हुने उल्लेख छ । 

अठार बुँदे नीति तथा कार्यक्रममा सीमित स्रोत साधनबाट बजेट र कार्यक्रम कार्यान्वयन गर्न चुनौतीपूर्ण अवस्था रहेको भए पनि चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने गरी कार्य गरिने उल्लेख छ । 

ताहाचलबाट दलाल पक्राउ– श्रम तथा वैदेशिक रोजगार विभाग काठमाडौं ताहाचलबाट ३ जना महिलासहित २९ जना दलाल पक्राउ परेका छन् । सेवाग्राहीले कार्यालयबाट सिधैं सेवा लिन नसक्ने परिस्थित सिर्जना गर्ने र राज्यले तोकेको शुल्क भन्दा दश गुणा बढी रकम लिएर काम गरीदिने सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसी) विश्वराज पोखरेलले बताए । 
बुधबार साढे ११ बजे सादा पोशाकका प्रहरी पुग्दा प्रहरीलाई समेत दलालहरुले सेवाग्राही ठानेर तानातान गर्दै कामको बारेमा सोधेको बताइएको छ । 

चितवनमा ८ हजार कुखुरा मरे– रोग लागेर चितवनमा ८ हजार १ सय कुखुरा मरेका छन् । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित २ वटा कुखुरा फार्म रित्तिएका हुन् । 
रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका ५ हजार १ सय कुखुरा मरेका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीका अनुसार त्यहाँका कुखुरा ‘एच ९ लो प्याथोजनिक संक्रमण’ले मरेका हुन् । 

सैनिक विमान दुर्घटनामा २५७ को मृत्यु– उत्तरी अल्जेरियामा बुधबार सैनिक विमान दुर्घटना हुँदा चालक दलका १० सदस्यसहित २ सय ५७ जनाको मृत्यु भएको छ । इलुशिन इल–७६ नामक उक्त विमान पश्चिमी सहाराको सीमाक्षेत्र टिन्डुफतिर जाँदैं गरेका बेला खेतमा दुर्घटना भएको हो ।

राजधानी अल्जियर्सनजिकैको बुफारिक सैन्य विमानस्थलबाट उडेको केही बेरमै दुर्घटना भएको थियो । रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश सैनिक र तिनका परिवार छन् । 

राष्ट्रिय क्रिकेट प्रतियागिता आगामी वैशाख १३ देखि– मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा सोह्र वर्षमुनिको मनमोहन मेमोरियल अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी वैशाख १३ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष ठाकुर गैरेले जानकरी दिए । 

प्रतियोगितामा सात प्रदेशका सात टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेता टोलीले क्रिकेट किट्ससहित रु पाँच लाख बराबरको पुरस्कार तथा उपविजेताले दुई लाख ५० हजार बराबरको पुरस्कार हात पार्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्