१२ असार २०८३, शुक्रबार

अल्जेरियामा सैनिक विमान दुर्घटना, २ सय ५७ जनाको मृत्यु

अल्जेरियामा सैनिक विमान दुर्घटना, २ सय ५७ जनाको मृत्यु

काठमाडौं, २९ चैत–उत्तरी अल्जेरियामा बुधबार सैनिक विमान दुर्घटना हुँदा चालक दलका १० सदस्यसहित २ सय ५७ जनाको मृत्यु भएको छ । इलुशिन इल–७६ नामक उक्त विमान पश्चिमी सहाराको सीमाक्षेत्र टिन्डुफतिर जाँदैं गरेका बेला खेतमा दुर्घटना भएको हो ।

राजधानी अल्जियर्सनजिकैको बुफारिक सैन्य विमानस्थलबाट उडेको केही बेरमै दुर्घटना भएको थियो । रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश सैनिक र तिनका परिवार छन् ।

यस्तै विमानमा मोरक्कोबाट पश्चिमी सहारालाई अलग गर्न माग गर्दै सशस्त्र संघर्ष गरिरहेको समूह पोलिसारियो फ्रन्टका २६ सदस्यसमेत थिए । टेलिभिजनमा प्रसारित दृश्यमा विमान दुई टुक्रा भएको र अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको देखिएको छ ।

सेना प्रमुख जनरल गइद सलाहले दुर्घटनास्थल भ्रमण गर्दै छानबिनका लागि निर्देशन दिएका छन् । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै शवलाई सेनाको केन्द्रीय अस्पतालमा लगिएको जनाएको छ । 

विश्व हवाई इतिहासमा सन् २००३ यताको यो दोस्रो भयानक दुर्घटना हो ।
 

salt training

कमेन्ट गर्नुहोस्