
काठमाडौं, २९ चैत– नवलपरासी र मोरङमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
नवलपरासीको बर्दघाट सुस्ता पूर्वको बुलिंगटार गाउँपालिकाको सिमार्दी भन्ने ठाउँमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य ८ जना गम्भीर घाइते भएका छन् ।
बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जिप बुलिंगटार गाउँपालिको सिमार्दी भन्ने ठाउँमा कच्ची सडकबाट खस्दा घटनास्थलमा १ जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
घटनास्थल दलदलेबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पर्छ । उद्धारको क्रम जारी छ ।
यस्तै, मोरङको पथरी शनिश्चरे–१० मा बुधबारराति मोटरसाइकल दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ । चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ ।
डाँस खोला पुलमा रोकीराखेको को २ त २४५९ नम्बरको ट्याक्टरको पछाडिको भागमा को १३ प ७७२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सो दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार २५ वर्षीय हेमराज खड्काको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।