
काठमाडौं, ३० चैत– प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारामा भोलिदेखि शुरु हुने रारा पर्यटन वर्षको उद्घाटनका लागि शुक्रबार त्यसतर्फ जाँदै छन् । प्रधानमन्त्री ओली बागलुङ हुँदै कर्णाली जान लागेका हुन् ।
दिउँसो बागलुङको ढोरपाटन अवलोकन गरेपछि बेलुकी उनी डोल्पाको दुनै पुग्ने कार्यक्रम छ । कर्णाली प्रदेशले आयोजना गरेको रारा पर्यटन वर्षको प्रधानमन्त्री ओलीले भोलि उद्घाटन गर्ने छन् ।
त्यसअघि बिहान राराबाटै प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले कर्णालीमा एक बालिकालाई विद्यालय भर्ना गर्ने तयारी पनि गरेका छन् ।
देशबाट निरक्षरता उन्मूलनको लागि सबै जनप्रतिनिधिले जस्तै आफूले पनि एक बालिकालाई विद्यालय लगेर नाम लेखाउने प्रधानमन्त्रीले यसअघि नै घोषणा गरेका थिए ।