०६ असार २०८३, शनिबार

सर्वेक्षण– २६ प्रतिशत नेपालीले अन्तरजातिय विवाह स्वीकार गर्दैनन्

सर्वेक्षण– २६ प्रतिशत नेपालीले अन्तरजातिय विवाह स्वीकार गर्दैनन्

काठमाडौं ,३० चैत– आगामी पाँच वर्ष भित्रमा देशको आर्थिक अवस्थामा सुधार आउने सर्वसाधारणले अपेक्षा गरेका छन् । 

नेपालको समसामयिक विषलाई केन्द्रमा राखेर गरिएको एक सर्वेक्षणमा सहभागीहरुले देशमा संविधान जारी भएको, चुनावहरु सफल भएकोले स्थायी सरकारले देशमा सुधार ल्याउने विश्वास व्यक्त गरेका हुन् । 

एसिया फाउन्डेसन नेपालले ‘नेपाली जनताको सर्वेक्षण’ गरेको थियो । उसले ७१ वटा जिल्लाका ४७ नगरपालिका र ५९९ वटा वडाहरुमा ७ हजार २सय २ जनासँग विभिन्न प्रश्नहरु राख्दै सर्वेक्षण गरेको जनाएको छ । 

नेपालीहरुको राजनीतिक सुझबुझ, आम मनस्थिति, सुरक्षाको अवस्था, सुशासन, सार्वजनिक सेवा प्रवाह, आर्थिक दृष्टिकोण र सूचनामा पहुँच जस्ता विषयहरु समेटेर प्रश्नावलीहरु सोधिएको थियो । 
सर्वेक्षणमा सहभागी ५२.९ प्रतिशत सर्वसाधारणले देश सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । 

त्यस्तै ९३.८ प्रतिशत जनताले आफू कतैबाट असुरक्षित नरहेको जनाएका छन् । 

नेपालको संविधान २०७२ ले देशलाई एक कदम अघि बढाएको सर्वेक्षणले देखाएको एसिया फाउन्डेसनले जनाएको छ । 

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सर्वेक्षण नतिजा अनुसार ४४ प्रतिशत सहभागीले आफूले स्थानीय निकायमा सही नेतृत्व चुनेको बताएका छन् र करिब ९० प्रतिशत जनता अहिलेको स्थानीय निकायको चुनावबाट सन्तुष्ट भएको बताएका छन् । 

सर्वेक्षणमा देशका प्रमुख समस्याहरु केके हुन् भनेर सोधिएकोमा २९.३ प्रतिशतले जीविकोपार्जन गर्न र काम पाउन गाह्रो भन्ने जवाफ दिएका थिए । २२.६ प्रतिशतले देशको प्रमुख समस्या प्राकृतिक प्रकोपलाई मान्छन् भने ५.२ प्रतिशत जनताले अपर्याप्त खानेपानीलाई देशको प्रमुख समस्या मान्दछन् । १० प्रतिशत जनताले मूल्यबृद्धिलाई समस्या मानेको देखिएको छ भने लगभग त्यतिले नै भ्रष्टाचार र चन्दा आतंकलाई देशको प्रमुख समस्या मानेका छन् । 

सर्वेक्षणका अनुसार ८४.१ प्रतिशत जनतालाई आगामी पाँच वर्षमा आफ्नो घरको आर्थिक अवस्था सुधार हुन्छ भन्ने विश्वास छ । 

सर्वेक्षणमा सहभागी मध्ये २४.९ प्रतिशत जनताले विदेशबाट कमाएको रेमिट्यान्स प्राप्त गर्ने गरेका छन् । 

नेपालको अन्तरजातीय तथा धार्मिक समूहबीचको सम्बन्धमा सुधार आएको सर्वेक्षणले देखाएको छ  । 

नेपालमा ५९ प्रतिशत नेपालीहरुले त्यस्तो सम्बन्धमा सुधार आएको मान्दछन् भने जम्मा १२ प्रतिशतले सम्बन्ध अझै बिग्रेको बताएका छन् । 

२६.१ प्रतिशत जनताले आफ्ना छोराछोरीको अन्तरजातीय विवाह स्वीकार नगर्ने सर्वेक्षणमा देखिएको छ । 

सर्वेक्षण सार्वजनिक कार्यक्रममा नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडका साथै एसिया फाउन्डेसनका अन्य देशका प्रतिनिधिहरु पनि सामेल थिए । नेपालको वास्तविक अवस्था जान्नका लागि यस्तो सर्वेक्षण आगामी दिनमा पनि जारी राख्ने कार्यक्रम निर्देशक विष्णु अधिकारीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्