०५ असार २०८३, शुक्रबार

विद्यालयका अध्यक्षद्वारा प्रधानाध्यापकलाई मरणासन्न हुनेगरी कुटपीट

चैत ३०, २०७४
विद्यालयका अध्यक्षद्वारा प्रधानाध्यापकलाई मरणासन्न हुनेगरी कुटपीट

जनकपुरधाम, ३० चैत-धनुषाधाम नगरपालिका गोहिया टोलस्थित जनता प्राविका प्रधानाध्यापक घुरनकुमार यादवलाई सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष फुल्गेन यादवलगायतले कुटपीट गरी ज्यान मार्ने प्रयास गरेका छन् । बिहीवार राष्ट्रिय वाणिज्य बैंकबाट चेक साटेर सँगै फर्किँदै गर्दा गएराति विव्यस अध्यक्ष यादवलगायतले गम्छाले घाँटीमा बेरेर प्रअको हत्याको प्रयास गरेका हुन् ।

घर फर्किने क्रममा दुवैले रक्सी तथा मासु सेवन गरेको र गाउँनजिकै सर्सा बलुवा खोलानजिकै मसला नर्सरीस्थित घारीमा आइपुगेपछि गम्छाले घाँटीमा बेरेर कुटपीट गरी बेहोस भएपछि छाडेर हिँडेको जनकपुर अञ्चल अस्पतालमा उपचाररत पीडित प्रअ यादवले बताए ।

मर्‍यो भनेर छाडेको हुनसक्ने भन्दै उनले मध्यरातमा होस आएपछि घर गएर आफूले प्रहरीलाई खबर गरेको जानकारी दिए । आफूसँगै रहेको पैसा तथा ल्यापटपसमेत लुटेर लगेको उनको आरोप छ ।

घटनामा संलग्न रहेको आरोपमा विव्यस अध्यक्ष फुल्गेन यादव र रामबली यादवलाई प्रहरीले पक्राउ गरेको छ । विव्यस अध्यक्ष यादवका छोरा रोहित यादव र अर्का आरोपी उमेश यादव फरार छन् ।

विव्यस अध्यक्ष यादवले केही वर्षअघि स्कूलका लागि भनेर ऋणमा केही जग्गा लिएका थिए । सो जग्गा किन्दा लिएको ब्याज पनि उनैले तिर्दै आएका थिए । उनले जग्गाको तमसुक गरी स्वामित्व लिन र ब्याज पनि बुझाउन आफूलाई आग्रह गर्दै आए पनि स्कूलको स्रोत नभएकाले त्यसो गर्न नसक्दा त्यही रिसले आक्रमण गरेको हुनसक्ने पीडित प्रअ यादवको भनाइ छ ।

फुल्गेन स्थानीय तह निर्वाचनमा धनुषाधाम– ४ बाट वडाध्याक्षमा स्वतन्त्र उम्मेदवार समेत बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्